गृहपृष्ठ एनसीएमटी कर्पोरेट फुटसलको उपाधि जाकी पोइन्ट हेल्थलाई

एनसीएमटी कर्पोरेट फुटसलको उपाधि जाकी पोइन्ट हेल्थलाई

एनसीएमटी कर्पोरेट फुटसलको उपाधि जाकी पोइन्ट हेल्थलाई

काठमाडौं । एनसीएमटी कलेजको आयोजनामा पहिलोपटक सञ्चालन भएको एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जाकी पोइन्ट हेल्थले जितेको छ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कर्पोरेट तथा संस्थाका २३ टोली सहभागी थिए। भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टोलीलाई सात समूहमा विभाजन गरी समूह चरणका खेल खेलाइएको थियो।

प्रतियोगिताको फाइनलमा जाकी पोइन्ट हेल्थले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई ४–३ गोलले पराजित गर्दै उपाधि जितेको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स उपविजेता बनेको छ।

पहिलो सेमिफाइनलमा नेको इन्स्योरेन्स लिमिटेड (बी) र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा हिमालयन एभरेष्ट इन्स्योरेन्स विजयी हुँदै फाइनल पुगेको थियो।

दोस्रो सेमिफाइनलमा जाकी पोइन्ट हेल्थले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ३–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

तेस्रो स्थानका लागि भएको खेलमा नेको इन्स्योरेन्स लिमिटेड (बी) ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पराजित गरेको थियो।

प्रतियोगितामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि राखिएको थियो। विजेता जाकी पोइन्ट हेल्थले १ लाख रुपैयाँ, उपविजेता हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५० हजार रुपैयाँ तथा तेस्रो भएको नेको इन्स्योरेन्स लिमिटेड (बी) ले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

व्यक्तिगत विधातर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्सका इराज कार्की उत्कृष्ट गोलरक्षक घोषित भए। जाकी पोइन्ट हेल्थका प्रकाश बुढाथोकी सर्वाधिक गोलकर्ता तथा सोही टोलीका मिलन थापा उत्कृष्ट खेलाडी बने।

फेयर प्ले अवार्ड नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राप्त गरेको थियो।

आयोजक एनसीएमटी कलेजले प्रतियोगितामार्फत विभिन्न कर्पोरेट तथा संस्थाबीच खेलकुदको विस्तार, टिमवर्क, अनुशासन र नेतृत्व क्षमताको विकास तथा प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाएको छ।

प्रतियोगितामा सहभागी टोली, खेलाडी, रेफ्री, स्वयंसेवक तथा कलेज व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। प्रतियोगिताको सफल आयोजनाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने आधार तयार भएको आयोजकले जनाएको छ।

एनसीएमटी कलेजले प्रतियोगिताको सफलताका लागि सहभागी २३ वटै टोली, खेलाडी, रेफ्री, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै व्यक्ति र संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित समय : ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु