गृहपृष्ठ ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ३८ लाख सङ्कलन
ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ३८ लाख सङ्कलन
ताप्लेजुङ । अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा प्रवेश शुल्क (टिकट) बाट ३८ लाख २८ हजार रकम सङ्कलन भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भएको उक्त प्रतियोगिता अवलोकन गर्न आएका दर्शकबाट टिकटबापत सो रकम सङ्कलन भएको हो ।
आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलबाट उक्त रकम सङ्कलन भएको हो । क्वाटरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार, सेमिफाइनलका खेलबाट रु ६ लाख पाँच हजार तथा फाइनल खेलबाट २० लाख ३१ हजार आम्दानी भएको थियो ।
आयोजकले क्वाटरफाइनलका खेलका लागि प्रतिटिकट २००, सेमिफाइनलका लागि रु ३०० र फाइनल खेलका लागि ५०० प्रवेश शुल्क निर्धारण गरेको थियो । फाइनल खेलमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । प्रतियोगितामा दर्शकको उल्लेख्य सहभागिताले ताप्लेजुङमा फुटबलप्रतिको आकर्षण र स्थानीयस्तरमा खेलकुद गतिविधिको व्यावसायिक सम्भावनालाई बलियो बनाएको आयोजकले जनाएको छ ।
प्रकाशित समय : १९:२९ बजे


















