गृहपृष्ठ बुद्धभूमिमा लालपुर्जा वितरण
बुद्धभूमिमा लालपुर्जा वितरण
कपिलबस्तु । जिल्लाको बुद्धभूमि नगरपालिकाका जग्गाधनीले लालपुर्जा प्राप्त गरेका छन् ।
बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा बुद्धभूमि–८ मा आयोजित कार्यक्रममा वडा नं. ७ र ८ का ७३० जग्गाधनीलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
वडा नं. ७ का ३३८ र वडा नं. ८ का ३९२ गरी ७३० जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण अभावमा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व स्थापित गर्न सहज हुने भएको छ ।
बुद्धभूमि नगरप्रमुख केशवकुमार श्रेष्ठले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहज हुने उनले बताए ।
“नगरपालिकाभित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ,” उनले भने । बाँकी जग्गा दर्ताको काम सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिने उनले जानकारी दिए ।
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया अघि बढाएर प्रमाणपुर्जा वितरण गरिएको बताए । प्रमाणपुर्जामा नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरणमा त्रुटि भए सच्याउन सकिने भएकाले प्रमाणपुर्जा प्राप्त गरेपछि विवरण ध्यानपूर्वक जाँच गर्न उहाँले जग्गाधनीलाई आग्रह गरे।
यसअघि बुद्धभूमि–५ का ३३५, वडा नं. ६ का ६२० र वडा नं. १० का ७३१ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ । वडा नं. ७ र ८ का ७३० समेत गरी बुद्धभूमि नगरपालिकामा हालसम्म दुई हजार ४१६ घरपरिवारले लालपुर्जा प्राप्त गरेका छन् ।
प्रकाशित समय : १२:२३ बजे


















