गृहपृष्ठ श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदै
श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदै
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको धार्मिक विश्वास छ। त्यसैले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी तथा रातलाई ‘मोहरात्रि’का रूपमा मनाउने गरिन्छ।
यस अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा विशेष पूजाआराधना, प्रवचन र भजनकीर्तन आयोजना गरिँदैछ। भक्तजनहरू व्रत बसी रातभर जाग्राम बस्ने परम्परा पनि रहेको छ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ। श्रीकृष्णले जीवनभर सत्य र सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको विश्वास गरिन्छ।
कुरुक्षेत्र युद्धका क्रममा पाण्डव अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई श्रीमद्भगवद्गीताका रूपमा लिइन्छ। गीता विश्वका विभिन्न भाषामा अनुवाद भएको प्रसिद्ध धार्मिक ग्रन्थमध्ये एक मानिन्छ।
पौराणिक ग्रन्थहरूमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाउँदै पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेको उल्लेख छ।
जन्माष्टमीका अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्ने गर्दछ। त्यसैगरी काठमाडौँ उपत्यकाका विभिन्न श्रीकृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।
काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने परम्परा रहेको छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
प्रकाशित समय : ०६:०६ बजे


















