गृहपृष्ठ डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ । उक्त खण्डमा करिब ८‍९ किलोमिटर सडक विस्तार एवं कालोपत्रेको काम धमाधम अघि बढेको छ ।

उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ । ६२ करोडमा ठेक्का सम्झौता भएको सडक खण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।

आयोजनाका अनुसार २०८२ साल जेठमा सम्झौता भएको उक्त सडकखण्ड २०८४ जेठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हाल सडक चौडा बनाउने, पर्खाल तथा नाली निर्माण र बेस तयार गर्ने काम भइरहेको छ । कालोपत्रे, कल्भर्ट निर्माण तथा रङरोगन गर्न बाँकी छ ।

त्यसैगरी, चालु आर्थिक वर्षमा तनहुँको बाइसजाँगरदेखि लमजुङ–तनहुँ सिमाना हुँदै लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीसम्मको करिब ६.५ किलोमिटर सडक दुई लेनमा विस्तार गर्न ६८ करोड बजेट विनियोजन भएको छ । सो सडक खण्डको ठेक्का आह्वान भइसकेको र ठेकेदार छनोट प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।

लमजुङ, मनाङलगायतका जिल्लालाई जोड्ने प्रमुख मार्गका रूपमा रहेको उक्त सडक हुँदै अन्नपूर्ण पदमार्गमा जाने आन्तरिक तथा विदेशी पर्यटक आवतजावत गर्ने गरेका छन् । सडक दुई लेनमा विस्तार भएपछि यातायात सहज हुनुका साथै पर्यटन आवागमनमा वृद्धि हुने अपेक्षा छ ।

प्रकाशित समय : ०६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु