गृहपृष्ठ ICT Awards र NAS-IT बीच सहकार्य, नेपाली प्रविधिलाई APICTA Awards सम्म पुर्‍याउने पहल

ICT Awards र NAS-IT बीच सहकार्य, नेपाली प्रविधिलाई APICTA Awards सम्म पुर्‍याउने पहल

ICT Awards र NAS-IT बीच सहकार्य, नेपाली प्रविधिलाई APICTA Awards सम्म पुर्‍याउने पहल

काठमाडौं । नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चसम्म पुर्‍याउने उद्देश्यले ICT Awards र NAS-IT बीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सहकार्यअन्तर्गत ICT Awards मार्फत राष्ट्रिय स्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित APICTA Awards मा सहभागी गराउन आवश्यक सहजीकरण र मार्गदर्शन उपलब्ध गराइने भएको छ।

समझदारीअनुसार ICT Awards मा सहभागी तथा विजेता भएका योग्य कम्पनी, स्टार्टअप र नवप्रवर्तकलाई APICTA Awards मा सहभागिताका लागि आवश्यक योग्यता र विधा छनोटदेखि आवेदन, मनोनयन प्रक्रिया तथा प्रस्तुति तयारीसम्म सहयोग गरिनेछ।

यससँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको स्वरूप बुझ्न तथा आफ्ना प्रविधि र उत्पादनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न आवश्यक तयारीमा समेत सहजीकरण गरिने जनाइएको छ।

ICT Foundation Nepal का अध्यक्ष राजन लम्सालले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन पहिचान गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्नु ICT Awards को यात्राको स्वाभाविक अर्को चरण भएको बताए।

उनले ICT Awards ले नेपालमा विकसित भइरहेका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई पहिचान गर्दै आएको उल्लेख गर्दै अब ती उपलब्धिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर विस्तार गर्नु आवश्यक रहेको बताए।

‘APECTA सम्म पुग्ने प्रक्रियामा आवश्यक सहजीकरण गर्न सकिए नेपाली प्रतिभाले आफ्नो क्षमता अझ व्यापक रूपमा प्रस्तुत गर्न सक्छन्,’ लम्सालले भने।

NAS-IT का अध्यक्ष दिपेन चापागाईंले उक्त सहकार्यलाई नेपाली प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय बजार, नेटवर्क तथा व्यावसायिक सम्भावनासँग जोड्ने अवसरका रूपमा व्याख्या गरे।

उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनु अवार्ड प्राप्त गर्ने प्रयासमा मात्र सीमित नरहेको बताए।

‘विश्व बजारमा आफ्नो उत्पादन र क्षमताको पहिचान बनाउने अवसर पनि हो,’ उनले भने, ‘नेपाली कम्पनी तथा स्टार्टअपलाई यस्ता अवसरसँग जोड्न संस्थागत सहकार्य महत्वपूर्ण हुन्छ। यस पहलले उनीहरूलाई अन्तर्राष्ट्रिय इकोसिस्टमसँग नजिकबाट जोडिन मद्दत गर्नेछ।’

NAS-IT का पूर्वअध्यक्ष गौरव राज पाण्डेले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सहभागिताले नेपाली प्रविधि क्षेत्रको क्षमता विश्वसामु प्रस्तुत हुने बताए।

उनका अनुसार यस्ता मञ्चले नेपाली कम्पनीलाई आफ्ना प्रविधि तथा समाधानलाई अन्तर्राष्ट्रिय मापदण्डसँग तुलना गर्दै सुधारका सम्भावना पहिचान गर्ने अवसर पनि प्रदान गर्छ।

‘नेपाली प्रविधि क्षेत्रले पछिल्ला वर्षमा उल्लेख्य प्रगति गरेको छ,’ उनले भने, ‘अब हाम्रो ध्यान आफ्ना उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै विश्वस्तरीय मापदण्डसँग प्रतिस्पर्धा गर्नेतर्फ केन्द्रित हुनुपर्छ।’

पाण्डेका अनुसार APICTA जस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनी र नवप्रवर्तकको सहभागिता बढ्दा उनीहरूको क्षमता प्रदर्शनसँगै नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न समेत सहयोग पुग्नेछ।

ICT Awards र NAS-IT बीचको सहकार्यले नेपालमा पहिचान भएका प्रविधि तथा नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्‍याउने संस्थागत संयन्त्र निर्माण गर्ने अपेक्षा गरिएको छ।

यसबाट नेपाली कम्पनी तथा स्टार्टअपले अन्तर्राष्ट्रिय अवार्ड प्रक्रियामा सहभागी हुने अनुभव हासिल गर्नुका साथै आफ्ना प्रविधि समाधानलाई विश्वस्तरमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

APICTA Awards एसिया–प्रशान्त क्षेत्रको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र उपलब्धिलाई सम्मान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका रूपमा परिचित छ।

नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकको APICTA Awards मा सहभागिता विस्तार गर्ने उद्देश्यले गरिएको यो सहकार्यलाई नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु