गृहपृष्ठ नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं । चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरूले प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।

गत भदौ १० गते बुधबार बिहान आएको भीषण बाढीका कारण विभिन्न जिल्लाका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति भएको संघले जनाएको छ। बाढीका कारण ठूलो संख्यामा नागरिक हताहत हुनुका साथै केहीको मृत्यु र केही बेपत्ता भएका छन् भने धेरै नागरिक घाइते भएका छन्। बाढीले निजी घर, सम्पत्ति तथा सार्वजनिक संरचनामा समेत अपूरणीय क्षति पुर्‍याएको संघले उल्लेख गरेको छ।

संघले यस्तो गम्भीर परिस्थितिमा प्रभावित तथा पीडित परिवारलाई तत्काल राहत, उपचार तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सरकारले यथासम्भव छिटो प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।

त्यस्तै, विपद्को तत्कालीन व्यवस्थापनसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना तथा पूर्वाधार निर्माणका लागि समेत विशेष सावधानी र प्राथमिकता आवश्यक रहेको संघको भनाइ छ। सम्बन्धित निकायको सक्रिय पहल, समयोचित निर्णय तथा आवश्यक सहयोगले पीडित परिवारलाई ठूलो राहत पुग्ने संघले विश्वास व्यक्त गरेको छ।

राष्ट्रिय विपद्को यस संवेदनशील घडीमा नागरिक, समाज तथा राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी रहँदै संघ तथा सदस्य उद्योगहरूले राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावनाअनुरूप प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन्।

संघका अनुसार उक्त रकम अक्षरेपी एक करोड एक लाख रुपैयाँ रहेको छ।

संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यमा निरन्तर संलग्न रहने प्रतिबद्धता जनाएको छ।

यस दुःखद् परिस्थितिमा नेपाल सरकारलगायत सबै सम्बन्धित पक्षको संवेदनशीलता, सक्रियता र सहयोगबाट मात्रै प्रभावित नागरिक तथा क्षेत्रको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार निर्माणको कामले गति लिन सक्ने संघको धारणा छ।

संघले विपद्बाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत, पुनःस्थापना र पुनर्निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु