गृहपृष्ठ बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता

बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता

बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता

काठमाडौं । परराष्ट्र मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म ९०३ जनाको शव फेला परेको र करिब चार हजार २०० जना अझै बेपत्ता रहेको जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रभावित क्षेत्रबाट ३२३ भन्दा बढी विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन् ।

सरकारले जीवन रक्षा, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, तत्काल राहत उपलब्ध गराउने र प्रभावित नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्ने कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखेको प्रवक्ता क्षेत्रीले बताए । त्यसका लागि नेपाल सरकारका उपलब्ध स्रोत तथा साधन खोज, उद्धार, राहत र पुनरुत्थानमा परिचालन गरिएको उनले जानकारी दिए ।

खोज, उद्धार तथा राहतका लागि आवश्यक सामग्री र स्रोतको आंकलन, अनुरोध, प्राप्ति तथा परिचालनमा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित निकायबाट प्राप्त अद्यावधिक तथा प्रमाणित तथ्याङ्क मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ । उनले अप्रमाणित सूचनाको आधारमा समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले बेपत्ता विदेशी नागरिकका परिवार तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको छ । मन्त्रालयका अनुसार नेपाली कूटनीतिक नियोगहरूले पनि प्रमाणित सूचना आदानप्रदान, परिवारसँग सम्पर्क सहजीकरण, आवश्यक सहयोग तथा शव पहिचान र स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गरिरहेका छन् ।

खोज तथा उद्धारका लागि नेपालका सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायको एकीकृत टोली परिचालन गरिएको छ । भारतबाट आएको टनेल रेस्क्यु सम्बन्धी विशेष प्राविधिक टोली मैलुङ, चिलिमे र स्याफ्रुबेसी क्षेत्रमा परिचालित रहेको मन्त्रालयले जनाएको छ ।

चीनको टोली माथिल्लो त्रिशूली–३ ‘ए’ को लुकु क्षेत्रमा तथा गणतन्त्र कोरियाको टोली पनि घटनास्थलमा परिचालित रहेको बताइएको छ ।

शव व्यवस्थापनका लागि एयरटाइट ब्याग प्राप्त भएको र थप ब्याग आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १८ सदस्यीय फरेन्सिक विज्ञ टोली अगस्ट २९ देखि नेपालमा कार्यरत छ ।

सिंगापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालनका लागि पनि समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।

नेपालले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, गणतन्त्र कोरिया लगायतका मुलुक तथा विभिन्न साझेदारबाट खोज तथा उद्धारमा सहयोग प्राप्त गरिसकेको जनाएको छ ।

प्राप्त सहयोगमा ब्रिज युनिट, फ्रिजर, जेनेरेटर, सोलार ल्याम्प, डीएनए परीक्षण किट, आपत्कालीन राहत उपकरण, टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्य सामग्री र औषधिलगायत छन् ।

मन्त्रालयका अनुसार फ्रिजर, डीएनए परीक्षण किट, अमेरिकाबाट लाइडार प्रविधि, सिंगापुरबाट डीभीआई सामग्री, बेली ब्रिज तथा चीन र सिंगापुरबाट उच्च क्षमताका ड्रोनलगायत थप गैरखाद्य सामग्रीका लागि अनुरोध गरिएको छ । जापान र गणतन्त्र कोरियाबाट पनि थप सामग्री प्राप्त हुने अपेक्षा गरिएको छ ।

प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता उपलब्ध गराउने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । भारत, चीन र यूएईबाट राहत सामग्री प्राप्त भइसकेको तथा यूएई, म्यानमार, अमेरिका, कतार, बेलायत, अस्ट्रेलिया, कोरिया, जापान, मलेसिया र सिंगापुरलगायत मुलुकबाट थप सामग्री आउने क्रममा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

नेपाल सरकारले सहयोग तथा ऐक्यबद्धता जनाउने मित्रराष्ट्र र साझेदारप्रति आभार व्यक्त गरेको छ ।

उद्धार तथा राहत कार्यको उच्चस्तरीय समन्वयमा प्रधानमन्त्री प्रत्यक्ष संलग्न रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले अगस्ट २६ मा भारतीय प्रधानमन्त्री र अगस्ट २८ मा पाकिस्तानी प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेको जानकारी पनि दिइएको छ ।

सरकारले विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख, विदेशमन्त्री तथा अन्य विशिष्ट व्यक्तिबाट सयौँ समवेदना सन्देश तथा सहयोगको प्रतिबद्धता प्राप्त गरेको जनाएको छ ।

चीनतर्फ रहेका नेपाली नागरिकको अवस्थाबारे मन्त्रालय तथा बेइजिङ र ल्हासास्थित नेपाली कूटनीतिक नियोगले निरन्तर सूचना सङ्कलन, आकलन तथा आदानप्रदान गरिरहेको जनाएको छ ।

चिनियाँ पक्षले हिल्सा तथा अन्य सीमा नाकाबाट तिब्बतमा रहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, जलविज्ञान तथा मौसमसम्बन्धी तथ्याङ्क, बाढीको जोखिम, हिमपहिरो, हिमताल तथा पानीजन्य विपद्सम्बन्धी सूचना नेपाल र चीनबीच रियल–टाइममा आदानप्रदान भइरहेको बताइएको छ ।

पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई अस्थायी रूपमा गाडिएको मन्त्रालयले जनाएको छ । शव गाड्नुअघि मेडिकल टोलीले प्रत्येक मृतकको डीएनए नमुना सङ्कलन गरेको बताइएको छ ।

परिवारले पछि शव पहिचान गर्न तथा आवश्यक धार्मिक संस्कारका लागि निकाल्न सक्ने गरी शव व्यवस्थापनसम्बन्धी निर्धारित मापदण्ड र निर्देशिका पालना गरिएको मन्त्रालयको भनाइ छ ।

प्रवक्ता क्षेत्रीले नेपाललाई तत्काल उद्धारका लागि प्राविधिक तथा उपकरणजन्य सहयोग आवश्यक रहेको बताए । टनेल रेस्क्यु टोली, पुरिएका शव पत्ता लगाउन लाइडार प्रविधि, शव सुरक्षित राख्न फ्रिजर तथा डीएनए विश्लेषण र फरेन्सिक सहयोगलाई तत्काल आवश्यकताका रूपमा उनले उल्लेख गरे ।

नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा स्वदेश तथा विदेशमा रहेका नेपाली र विदेशी नागरिकले क्यूआर कोडमार्फत सहयोग गर्न सक्ने मन्त्रालयले जनाएको छ । सहयोग गर्नुअघि क्यूआर कोड तथा सम्बन्धित लिङ्कको आधिकारिकता यकिन गर्न दातालाई आग्रह गरिएको छ ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु