गृहपृष्ठ भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज
भदौ १४, २०८३,
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा काठमाडौंस्थित ट्रमा सेन्टरमा भौँतारिँदै आफन्तजन। बेपत्ता आफन्तको अवस्था बुझ्न तथा खोजीका लागि उनीहरू ट्रमा सेन्टरमा दिनभरजसो तल्लीन देखिन्छन्।
तस्वीर : प्रदीप राज वन्त/रासस
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएर उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ४८ मध्ये ३३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी ४८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३३ जनालाई डिस्चार्ज गरिएको हो ।
राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १५ जना घाइतेको उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य छ ।
भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन सम्पर्कविहीनका परिवारका सदस्य आइरहेका उनले बताए । अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन् ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा सम्पर्कविहीन व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ ।
बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ भने सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
प्रकाशित समय : १५:५५ बजे


















