गृहपृष्ठ नेपाल–चीन सीमासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन
नेपाल–चीन सीमासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन
काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवा रसुवास्थित नेपाल–चीन सीमासम्म पुनः सञ्चालनमा आएको छ । टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा बिहीबार सेवा सुचारु गरेसँगै अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका जनाएको छ ।
टेलिकमका अनुसार रसुवा जिल्लाको नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर बीटीएस साइटसहित अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङका साइट सञ्चालनमा आएका छन् । त्यस्तै नुवाकोटका चारघरे र चारघरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा ल्याइएको छ ।
रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएपछि नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः उपलब्ध भएको नेपाल टेलिकमले जनाएको छ ।
अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ र आमाछोङदिमो गाउँपालिका–५ लगायतका क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुनेछ । छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा सेवा सञ्चालन भएको छ ।
त्यसैगरी जिपजिपे साइटमार्फत कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी तथा देउरालीडाँडामा मोबाइल सेवा उपलब्ध हुनेछ । गत्लाङ बीटीएस साइट सञ्चालनमा आएपछि गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम क्षेत्रमा पनि सेवा पुनः सञ्चालन भएको छ ।
नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट विदुर नगरपालिका–१२ र १३ मा मोबाइल सेवा सुचारु भएको टेलिकमले जनाएको छ ।
बाढीपहिरोका कारण सञ्चार सेवा प्रभावित भएका क्षेत्रमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन आफ्ना प्राविधिक टोली निरन्तर खटिरहेको नेपाल टेलिकमले जनाएको छ । विपद्को अवस्थामा समेत सेवा निरन्तरताका लागि कम्पनी प्रतिबद्ध रहेको टेलिकमको भनाइ छ ।
प्रकाशित समय : ११:४० बजे


















