गृहपृष्ठ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता
गण्डकी, १२ भदौ
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीमा बेपत्ताको
खोजी तथा पहिचानका लागि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका आफन्तजन । शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । पहिचान तथा परीक्षणका लागि पोखरामा एक सय २० शव ल्याइएको छ ।
तस्बिर : राम थापा/रासस
गण्डकी । आज रक्षाबन्धन पर्व । हिन्दू संस्कारमा आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामनासहित दिदीबहिनीले राखी बाँधिदिने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।
गोरखाकी सीता कार्कीले भने दाई रामशरणलाई यसपालि राखी बाँधिदिन पाएनन । रामशरणले बैनीलाई उपहार र रक्षावचन नै दिन सके । दाजुभाइ(दिदीबहिनीबीचको अटुट प्रेम र स्नेहको प्रतिकका रुपमा लिइने यस पर्व सीता र रामशरणका लागि भने दुःखान्त बनेर आइपुग्यो ।
शुक्रबार अपराह्नपख मलिन अनुहार लिएर सीता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको छिँडीमा बसिरहनुभएको थियो । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि सम्पर्कविहीन भएका दाईको खोजी र पहिचानका लागि उनि पोखरा आइपुगेकि हुन । बाढीले बगाएर धादिङ, गोरखा, नवलपुर र तनुहँ जिल्ला ल्याइपुर्याएका शव पहिचान र परीक्षणका लागि गएराति पोखरा ल्याइएको थियो ।
तीनदिनदेखि बाढीमा हराइरहेका दाइको खोजीका क्रममा आफू पोखरा आएको कार्कीले बताइन् । “दाईको खोजीका लागि कोही काठमाडौँ जानुभएको छ, कोही चितवन, म पनि दाइको अवस्था पत्ता लाग्छ कि भनेर पोखरा आएकी हुँ”, उनले भनिन, “रसुवाको मैलुङबाट दाई बेपत्ता भएको हुन्, बुधबार बिहानसम्म उनिसँग कुरा भएको थियो, त्यसपछि बेखर छन् ।”
गोरखाको आरुघाट गाउँपालिका–१० मङ्गलटारका ३८ वर्षीय रामशरण बाढीपछि सम्पर्कविहीन हुनुभन्दा तीन दिनअघि मात्र घरमा आएर त्यसतर्फ फर्केका थिए । रसुवागढी नाकामा कोरियन कम्पनीले निर्माण गरेको जलविद्युत् आयोजना कार्यालयमा उहाँ चालकका रूपमा कार्यरत हुन । “कोरियन कम्पनीका सरहरू लिएर आयोजनास्थलमा जाने क्रममा बाढीमा परी दाइ बेपत्ता भएको हो”, सीताले भनिन, “अहिलेसम्म उहाँको अवस्था पत्ता लाग्न नसक्दा परिवार पीडामा छौँ, जतिसक्दो छिटो खोजी होस् ।”
कतै दाईको शव भेटिन्छ वा पहिचान हुन्छ कि भनेर सीताले अस्पतालको फरेन्सिक मेडिसिन विभागमा राखिएका शवका तस्बिर हेरेका थिए । आज अपराह्नसम्म दाईको अवस्थाबारे केही पत्ता नलागेको उनले बताइन् । बाढीले शव बगाएर विभिन्न जिल्लामा पुर्याएकाले आफन्तलाई पहिचान गर्न कठिनाई भइरहेको छ । पहिचान गर्न सजिलो होस् भनेर बेपत्ता भएकाका आफन्तलाई शवको तस्बिर स्क्रिनमा हेर्ने व्यवस्था मिलाइएको छ ।
सीता झै सम्पर्कविहीनका अन्य आफन्त पनि अस्पताल पुगेर शव पहिचान गर्ने प्रयासमा छन् । विदेशी पर्यटक टोलीसँग गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीनभएका भक्तपुरका चिकित्सक आयुष अधिकारीको खोजी र पहिचानका लागि उनका आफन्त मातृका ढुङ्गाना आयुषको तस्बिर हातमा लिएर अस्पताल पुग्ेका थिए । “आयुष मेरो साला बाबु हुन् । ग्राण्डी अस्पतालमा कार्यरत थिए”, उनले भने, “पर्यटकको टोलीसँगै आयुष बाढीपछि रसुवागढीबाट सम्पर्कविहीन भएका छन् ।”
उनले अस्पतालमा राखिएका अधिकांश शव चिन्नै नसकिने अवस्थामा रहेका बताए । शव पोखरा ल्याएको थाहा पाएपछि विभिन्न जिल्लाबाट आफन्त शव पहिचानका लागि पोखरा आइपुगेका छन् । धादिङको निलकण्ठ नगरपालिका–९ धारापानी गाउँका २८ जना बाढीपछि सम्पर्कविहीन भएपछि उनिहरूका आफन्त पनि यतिबेला पोखरा आइपुगेका छन् । स्थानीय बलराम लम्सालले गोसाइँकुण्डको तीर्थयात्रामा जाँदा बसमा यात्रारत सबै बाढीमा बेपत्ता भएको बताए ।
“एउटै घरका सात जनासम्म बेपत्ताभएको छन्, सिङ्गो गाउँ नै यतिबेला शोकमा छ”, उनले भन्े, “धादिङमा भेटिएका शव पोखरा ल्याएको थाहा पाएपछि हामी खोजीका लागि यहाँ आएका हौँ ।” सदरमुकाम धादिङवेशीबाट तीर्थयात्रु लिएर गएको बस नुवाकोटको बेत्रावतीबाट बेपत्ता भएको थियो । माथिबाट बाढी आएपछि उक्त बसमा सवार तीर्थयात्रु बसबाट ओर्लेर नजिकको घरसम्म पुगेको जानकारी आएपनि त्यसपछि सम्पर्कविहीन भएको लम्सालले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९३ र मणिपाल शिक्षण अस्पतालमा नौ वटा शव राखिएका छन् । शवको पहिचान तथा परीक्षणको काम भइरहेको बताउँदै उहाँले शव परीक्षण गरी पहिचान भएमा आफन्तलाई बुझाइने जानकारी दिए ।
पहिचान हुन नसकेका शवको डिनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइने प्रजिअ गुरुङले बताए । उनका अनुसार पहिचान हुन नसकी बेवारिसे बनेका शवलाई ‘बेवारिसे शव व्यवस्थापन निर्देशिका’ अनुसार व्यवस्थापन गरिनेछ । शवको सङ्ख्या धेरै भएका र अधिकांश शव चिन्नै नसकिने अवस्थामा रहेकाले व्यवस्थापनमा अझै केही दिन लाग्न सक्ने जनाइएको छ ।
त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको हो । यसअघि तनहुँबाट नौ वटा शव पोखरा ल्याइएको थियो ।
प्रकाशित समय : १९:४७ बजे


















