गृहपृष्ठ भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं : सांसद दुलाल
भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं : सांसद दुलाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले रसुवा हुँदै बगेको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढीबाट ठूलो जनधनको क्षति भएको र धेरै नागरिक सम्पर्कविहीन रहेको भन्दै तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिनुपर्ने बताए ।
उनले उद्धारको पर्खाइमा रहेका नागरिकलाई राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रका हेलिकप्टर सरकारले नियन्त्रणमा लिएको र निजी क्षेत्रले उद्धारका लागि परिचालन गर्न नपाएको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै उनले उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गर्न सक्ने वातावरण बनाउन आग्रह गरे ।
‘सरकारले कि सबै निजी हेलिकप्टरलाई उद्धारमा प्रयोग गरोस् कि उद्धारकै लागि निजी क्षेत्रले हेलिकप्टर प्रयोग गर्न सक्ने वातावरण सिर्जना गरोस्,’ उनले भने ।
दुलालले सरकारबाट रसुवा, नुवाकोट र धादिङलाई संकटग्रस्त जिल्ला घोषणा गरिएको जानकारी प्राप्त भएको भन्दै त्यसका लागि सरकारलाई धन्यवाद दिए । विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षको विभाजन नरहेको उल्लेख गर्दै उनले आफ्नो दल सरकारको साथमा रहेको बताए ।
उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्तालाई घटनास्थलमा परिचालन गरी उद्धार, राहत र पुनस्र्थापनामा सहयोग गर्न आह्वान गरिसकेका छन् ।
सांसद दुलालले उद्धार गरिएका तथा घाइते नागरिकको उपचार र आवश्यक सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । बाढीका कारण राष्ट्रिय राजमार्गमा यातायात अवरुद्ध हुनुका साथै विद्युत् प्रसारण र सञ्चार सेवासमेत प्रभावित हुनसक्ने भन्दै प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर राख्न तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए ।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत सञ्चार सेवा सञ्चालनमा सहयोग पुर्याउनुपर्ने उनको सुझाव छ ।
दुलालले उद्धार र राहतपछि पुनस्र्थापनाको कामलाई पनि युद्धस्तरमा अघि बढाउनुपर्ने बताए । नेपाल सरकार, बागमती प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्दै राजनीतिक दल, संघसंस्था र आम नागरिकलाई समेत पुनस्र्थापनाको अभियानमा सहभागी गराउनुपर्ने उनको भनाइ छ ।
उनले भविष्यमा यस्ता विपद् दोहोरिन नदिन उत्तरी छिमेकी मुलुकसँग सीमापार सूचना आदानप्रदान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
सिन्धुपाल्चोकको मेलम्चीलगायतका क्षेत्रमा विगतमा पनि अकल्पनीय बाढी आएको स्मरण गर्दै उनले उत्तरी छिमेकबाट नेपालतर्फ बग्ने नदीहरूमा प्रभावकारी ‘अर्ली वार्निङ सिस्टम’ स्थापना गर्न सरकारलाई आग्रह गरे ।
‘भोलि अरू ठाउँमा पनि यस्तै विपद् आउन सक्छ,’ उनले भने, ‘त्यसकारण उत्तर–दक्षिण बग्ने नदीहरूमा पूर्वसूचना प्रणाली राख्न र सीमापार सूचना प्रवाह प्रभावकारी बनाउन सरकारले आवश्यक पहल गर्नुपर्छ ।’दुलालले अहिलेको प्राथमिकता उद्धार, राहत र मानवीय सेवा भएकाले सबै पक्ष एकजुट भएर विपद्को सामना गर्नुपर्ने बताए ।
प्रकाशित समय : १५:४१ बजे
















