गृहपृष्ठ नेपाल टेलिकमले सुरु गर्‍यो ‘आउटबाउन्ड IVR’ सेवा, हजारौँलाई एकैपटक भ्वाइस म्यासेज पठाउन सकिने

नेपाल टेलिकमले सुरु गर्‍यो ‘आउटबाउन्ड IVR’ सेवा, हजारौँलाई एकैपटक भ्वाइस म्यासेज पठाउन सकिने

नेपाल टेलिकमले सुरु गर्‍यो ‘आउटबाउन्ड IVR’ सेवा, हजारौँलाई एकैपटक भ्वाइस म्यासेज पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई बढीमा एक मिनेटसम्मको व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजका रूपमा पठाउन सकिने ‘आउटबाउन्ड IVR’ सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल टेलिकमका अनुसार संस्थागत तथा व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी हुने यो सेवा केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको थियो। परीक्षण सफल भएपछि कम्पनीले सेवाको व्यावसायिक सञ्चालन सुरु गरेको हो।

यो सेवा सामूहिक सूचना प्रवाह प्रणालीका रूपमा प्रयोग गर्न सकिनेछ। सूचना, परीक्षाको नतिजा, प्रचारप्रसार तथा अन्य प्रवद्र्धनात्मक सामग्री एकैपटक धेरै व्यक्तिसम्म पुर्‍याउन सेवाको प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

सेवा लिन चाहने कार्यालय, व्यवसायी वा अन्य सूचनाप्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरहरूको सूची र सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। निर्धारित प्रक्रिया पूरा गरेपछि कम्पनीले सेवामार्फत तोकिएका नम्बरमा स्वचालित रूपमा कल गर्नेछ।

यस सेवामार्फत कल प्राप्त गर्ने व्यक्तिको मोबाइल वा टेलिफोनमा कलर आईडीका रूपमा सन्देश पठाउने सेवाप्रदायक वा ग्राहकको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर देखिनेछ।

हाल इच्छुक सेवाप्रदायक तथा ग्राहकले नेपाल टेलिकमको दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फारम भरेर यो सेवा लिन सक्नेछन्।

नेपाल टेलिकमले निश्चित नम्बरहरूमा स्वचालित रूपमा एकैपटक सूचना पुर्‍याउन सकिने भएकाले आगामी दिनमा यस सेवाको माग बढ्दै जाने विश्वास व्यक्त गरेको छ। सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु