गृहपृष्ठ बागमतीका मुख्यमन्त्री थापाले पाउलान त विश्वासको मत, अझै कायमै छ किचलो
बागमतीका मुख्यमन्त्री थापाले पाउलान त विश्वासको मत, अझै कायमै छ किचलो
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिन लागेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी आन्तरिक किचलोमा डुबे पछि हिजो विश्वासको मत लिन नसकेका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिन लागेका हुन । आज बागमती प्रदेश सभामा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिने तय भएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागे पनि उनका सहयोगी दल नेकपा र राप्रपा भने आन्तरिक किचलोमा फसेको छ।
नेकपा बागमती प्रदेशका असन्तुष्ट सांसद गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओम कुमारी श्रेष्ठले मत नदिने अडान लिइरहेका छन, जसमध्य कृष्ण, राजेन्द्र, लक्ष्मण र ओमकुमारी साबिक नेकपा एसका सांसद हुन् । आफ्नै सत्ता सहयोगी सांसदले विश्वासको मत नदिने भए पछि हिजो प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो ।
बागमतीका असन्तुष्ट सांसदलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं बोलाएर हिजै छलफल गरे पनि अझै विश्वासको मत दिने कि नदिने भन्ने टुंगो लागिसकेको अवस्था भने छैन ।
गत भदौं ४ मा नवनियुक्त मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । त्यसपछि बैठकको समय पटक पटक परिवर्तन गरी साँझ ५ बजे र अन्तिममा ८ बजेका लागि तोकिए पनि बैठक बस्न नसके पछि आज ४ बजेका लागि तय गरिएको छ ।
प्रकाशित समय : १४:३५ बजे


















