गृहपृष्ठ राष्ट्रियसभाः समसामयिक विषयमा सदस्यद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाः समसामयिक विषयमा सदस्यद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सदस्य खम्बबहादुर खातीले बाजुरा जिल्लामा स्वास्थ्यकर्मी (चिकित्सक) पठाउन सरकारसँग माग गरे ।
सदस्य गीता देवकोटाले बालिका माथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिनुपर्ने बताइन । सदस्य जगत तिमल्सिनाले २१ वटा दूतावासमा राजदूत नभएको गुनासो गरे ।
सदस्य धर्मेन्द्र पासवानले रौतहटको लालबकैया नदी नियन्त्रण गर्न सरकारसँग माग गरे । सदस्य महन्थ ठाकुरले बालिका बलात्कारको घटनामा दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।
सदस्य मीनासिंह रानाले महिला तथा बालबालिकामाथि हुने हिंसा चुनौतीपूर्ण बन्दै गएको बताइन ।
सदस्य रञ्जित कर्णले राजविराज भारदह सडकखण्डको अवस्था जीर्ण रहेको, राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल शय्या अभाव भएको बताए ।
सदस्य रेखाकुमारी झाले जनकपुरको प्रादेशिक अस्पतालमा गर्भवती महिलाको स्वास्थ्य उपचारमा चिकित्सकले ध्यान नदिएको गुनासो गरिन ।
सदस्य रोशनी मेचेले बलात्कारका घटना बढ्ने तर न्याय नपाउने अवस्थाले चिन्तित बनाएको जानकारी दिइन ।
सदस्य वासुदेव घिमिरेले दाङका वसन्त कालाथोकीको शङ्खमूलको एक अस्पतालमा कुटपिटबाट अस्पतालमा निधन भएको र उक्त दुःखद् खबरपछि उनकी आमाले पनि आत्महत्या गरेकाले कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।
प्रकाशित समय : ११:४१ बजे


















