गृहपृष्ठ बाल शल्यचिकित्सकबीच अन्तरक्रिया
बाल शल्यचिकित्सकबीच अन्तरक्रिया
पाटन । किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेषज्ञ अन्तक्र्रिया सम्पन्न भएको छ ।
‘किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल एक्सिलेन्स कोलाबोरेसन’अन्तर्गत आइतबार आयोजित कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति र जटिल अवस्थाको व्यवस्थापनबारे चिकित्सकबीच ज्ञान तथा अनुभव आदानप्रदान गरिएको हो ।
कार्यक्रममा भारतको मेदान्ता गुरुग्रामका बाल शल्यचिकित्सक तथा बाल युरोलोजिस्ट डा सन्दीपकुमार सिन्हाले बाल शल्यचिकित्सा र बाल युरोलोजीका विभिन्न जटिल विषयमा प्रस्तुति दिएको थिए ।
उनले बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्याको समयमै पहिचान, सही निदान र आधुनिक उपचार पद्धतिको प्रयोग महत्त्वपूर्ण हुने बताए। यस्ता विशेषज्ञ अन्तक्र्रियाले चिकित्सकीय ज्ञान र उपचार सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
किस्ट टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक डा अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालमै अन्तरराष्ट्रियस्तरको विशेषज्ञ ज्ञान र परामर्श उपलब्ध गराउन सहयोग पुगेको बताए। उनले सहकार्यलाई शैक्षिक कार्यक्रममै सीमित नराखी बिरामीलाई आवश्यक पर्दा विशेषज्ञको राय, दूरचिकित्सा तथा जटिल स्वास्थ्य समस्यामा अन्तरराष्ट्रिय विशेषज्ञको परामर्श उपलब्ध गराउने उद्देश्य रहेको बताए ।
अस्पतालका अनुसार किस्ट टिचिङ हस्पिटलमा बहुविषयगत चिकित्सकीय टोली, विशेषज्ञ प्रत्यारोपण टोली तथा आवश्यक क्लिनिकल सेवा उपलब्ध छन् । मेदान्तासँगको सहकार्यअन्तर्गत जटिल स्वास्थ्य समस्या भएका बिरामीले आवश्यकताअनुसार मेदान्ताका सम्बन्धित विशेषज्ञसँग परामर्श लिनसक्ने व्यवस्था पनि गरिएको छ ।
डा थापाका अनुसार नेपालमै गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै उपचारका लागि विदेश जानुपर्ने अवस्था कम गर्नु अस्पतालको प्रमुख उद्देश्य हो । आगामी दिनमा पनि विभिन्न विशेषज्ञतामा नियमित अन्तक्र्रिया, विशेषज्ञ परामर्श र उन्नत उपचार सेवाका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
प्रकाशित समय : ०५:५० बजे


















