गृहपृष्ठ ‘फोहोरका कारण गाउँ छाड्ने अवस्थामा बञ्चरेडाँडाबासी, समाधानका नाममा ‘नाटक’ गरियो’

‘फोहोरका कारण गाउँ छाड्ने अवस्थामा बञ्चरेडाँडाबासी, समाधानका नाममा ‘नाटक’ गरियो’

‘फोहोरका कारण गाउँ छाड्ने अवस्थामा बञ्चरेडाँडाबासी, समाधानका नाममा ‘नाटक’ गरियो’

काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण स्थानीय नागरिक खेतबारीमा काम गर्न नसक्ने र गाउँ नै छाडेर बाहिर बस्नुपर्ने अवस्थामा पुगेको धादिङको धुनिवेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यले बताएका छन् ।

उनले फोहोरबाट निस्कने लिचड(फोहोरको पानी) खेतबारीमा बग्ने, दुर्गन्धका कारण बस्न नसकिने र विभिन्न रोगको जोखिम बढेको भन्दै बञ्चरेडाँडाको अवस्था अत्यन्तै पीडादायी बनेको बताए ।

‘जनताले आफ्नै खेतबारी छाड्नुपरेको छ, गाउँ छाडेर डेरा लिएर बस्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

आचार्यका अनुसार लिचड मिसिएको पानी खेतबारीमा पुग्दा खेती गर्न नसकिने अवस्था छ भने त्यसको सम्पर्कले मानिसको खुट्टासमेत कुहिने गरेको गुनासो स्थानीयले गर्दै आएका छन् ।

दूषित फोहोर पशुचौपायाले खाँदा मर्ने, असह्य दुर्गन्ध फैलिने तथा चिल–गिद्धले फोहोरका वस्तु बस्ती र खेतबारीमा लगेर फाल्ने समस्याले स्थानीयको जनजीवन कष्टकर बनेको उनले बताए । ‘त्यहाँको अवस्था एकदमै दर्दनाक छ, जनता अति पीडित छन्,’ आचार्यले भने ।

बञ्चरेडाँडा समस्या नयाँ नभएको उल्लेख गर्दै उनले नेपाल सरकारले २०६२/६३ सालदेखि उक्त क्षेत्रमा फोहोर लैजान थालेको बताए । तर, फोहोर व्यवस्थापनका लागि अधिग्रहण गरिएको भनिएको जग्गा कति र कहाँ रहेको छ भन्ने विषयसमेत अझै स्पष्ट हुन नसकेको उनको भनाइ छ ।

विगतदेखि स्थानीयले पटक–पटक आवाज उठाए पनि समस्या समाधान नभएको र अहिले पनि उपत्यकासहित करिब २१ स्थानीय तहको फोहोर दैनिक तीन सयभन्दा बढी गाडीमार्फत त्यहाँ पु¥याइने गरेको उनले बताए ।

कानुनअनुसार प्रत्येक स्थानीय तहले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा लागू नभएको र ठूलो संख्यामा स्थानीय तहको फोहोर एउटै क्षेत्रमा थुपारिएको आचार्यको आरोप छ ।

काठमाडौँ महानगरपालिकाले अन्य पालिकाको समेत फोहोर व्यवस्थापनको जिम्मेवारी लिएर ठेकेदारको जस्तो भूमिका खेलेको भन्दै उनले अन्य स्थानीय तहले फोहोर कसरी व्यवस्थापन भइरहेको छ भन्ने विषयमा समेत चासो नदिएको बताए ।

स्थानीय जनप्रतिनिधिले चाहेर पनि आफ्नो क्षेत्रमा लगेर फालिएको फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

फोहोर व्यवस्थापनका नाममा बारम्बार बैठक, सहमति र सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै आचार्यले पछिल्लो समय भइरहेका छलफललाई ‘नाटकबाजी’ को संज्ञा दिएका छन ।

उनका अनुसार बञ्चरेडाँडासम्बन्धी यसअघि नै करिब ७६–७७ वटा सम्झौता भइसकेका छन् र ती सम्झौताका रेकर्ड मन्त्रालय, विभाग तथा महानगरपालिकासँग छन् ।

‘साँच्चै समाधान गर्ने हो भने पुराना सम्झौताका फाइल खोल्ने, फोहोर फालिएको ठाउँको वास्तविक अवस्था हेर्ने र विज्ञसँग बसेर काम गर्ने हो । फेरि बैठक गरेर देखाउने काम मात्रै भइरहेको छ,’ उनले भने ।

आचार्यले बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको नयाँ स्थान पनि छोटो समयमै भरिन थालेको बताए । फोहोर छुट्याएर व्यवस्थापन गरे ४० वर्ष र नगरे २० वर्षसम्म प्रयोग गर्न सकिने भनिए पनि कुँडुले क्षेत्रमा फोहोर फाल्न थालेको करिब चार वर्षमै मेसिनले ठेलेर राख्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

अब केही वर्षमै उक्त स्थान पनि भरिएपछि त्यसपछिको विकल्प के हुने भन्ने विषयमा सरकारले तत्काल गम्भीर योजना बनाउनुपर्ने उनले बताए ।

विगतमा स्थानीयको विरोध दबाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको स्मरण गर्दै आचार्यले अब समस्या समाधानका लागि केन्द्र सरकार, सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र फोहोर पठाउने सबै स्थानीय तहबीच ठोस समन्वय हुनुपर्ने बताए ।

अहिलेका प्रधानमन्त्रीबाट समाधानको अपेक्षा गरिए पनि पाँच–छ महिनासम्म ठोस पहल नदेखिँदा स्थानीय निराश हुन थालेको उनको भनाइ छ ।

आचार्यले थप्दै भने, ‘जनताको आक्रोश जायज छ । तर समाधान स्थानीयलाई आन्दोलनमा धकेलेर होइन, जिम्मेवार निकायले आफ्नो जिम्मेवारी पूरा गरेर खोज्नुपर्छ ।’

शुक्रबार मात्र सञ्चारमन्त्री विक्रम तिमल्सिना उपस्थितिमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरिएको थियो । शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त छलफलमा तिमल्सिनाले फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका थिए ।

उपत्यकाका विभिन्न पालिका तथा महानगरका प्रतिनिधिहरुसहितको छलफलका क्रममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले हल नै छाडेर बाहिरिएकी थिइन् ।

धादिङ–१ बाट निर्वाचित सांसद तामाङले उपत्यकाका स्थानीय सरकारहरू फोहोर थुपारिने बञ्चरेडाँडाका जनताले भोग्दै आएको समस्याप्रति गम्भीर नभएको भन्दै आक्रोशित भएकी थिइन् ।

त्यसै क्रममा सबै स्थानीय तह प्रमुख बैठकमा सहभागी नभएको र सहभागी भएकामध्ये पनि कोही बीचैमा उठेर हिँडेको भन्दै उनी बारम्बार टेबल ठोक्दै, मेयरहरूतिर औंला तेस्र्याउँदै जंगिएकी थिइन्। त्यसपछि ’काठमाडौंको फोहोर रोकिने’ चेतावनी दिँदै उनी हलबाट वाहिरिएकी थिइन् ।

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु