गृहपृष्ठ सम्बन्ध विच्छेदका मुद्दा उच्च

सम्बन्ध विच्छेदका मुद्दा उच्च

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।

पाँचथर जिल्ला अदालतमा गत आव २०८२र०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । सोही आवमा अदालतमा अघिल्ला आव २०८१र०८२ बाट २४६ मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए । यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचिमा परेका थिए । जसमध्ये १६७ मुद्दा मेलमिलापबाट टुङ्गिएका छन् । मेलमिलाप भएका अधिकांश मुद्दामा सम्बन्ध विच्छेद भएको पाँचथर जिल्ला अदालतका तहसिलदार एवम् सूचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिए।

गत वर्ष सबैभन्दा बढी ७३ वर्षका श्रीमान र ५९ वर्षकी श्रीमतीबीच पनि सम्बन्ध विच्छेद भएको छ भने डेढ वर्षको बच्चा भएका बाबुआमा पनि दाम्पत्य सम्बन्ध टुङ्ग्याउन अदालत आएका छन । अघिल्लो वर्षभन्दा सम्बन्ध विच्छेदका नयाँ दर्ता र कूल मुद्दाको सङ्ख्या र प्रतिशतमा वृद्धि भएको छ । आव २०८१÷०८२ मा कूल मुद्दाको ५१ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेकामा गत आव २०८२÷०८३मा सो सङ्ख्या पाँच प्रतिशतले बढेर ५६ प्रतिशत पुगेको नेम्बाङले बताए ।

वर्षेनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा ठूलो समस्या सिर्जना गर्नेतर्फ सजग हुनुपर्ने सरोकारवालाको भनाइ छ । जिल्ला अदालतका तहसिलदार एवम् सूचना अधिकारी नेम्बाङ सम्बन्ध विच्छेदका एक तिहाइ मुद्दा प्रकृया पूरा गर्न मात्रै दर्ता हुने गरेको बताउछन् । “एक तिहाइ हाराहारी मुद्दामा अर्को विवाह गरिसकेकाले कागजी प्रमाण मिलाउन मात्रै अदालती प्रक्रियामा आएको देखिन्छ”, नेम्बाङले भने “सम्बन्ध विच्छेदको बढ्दो क्रमप्रति समाजका सबै पक्षले चासो दिनु जरुरी छ ।”

अधिवक्ता जयप्रकाश केरुङ आफूले मुख्य रूपमा बालविवाह, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, मदिरा सेवन गर्ने लत, बेवास्तालगायतका कारण सम्बन्ध विच्छेद हुने गरेको पाइएको बताउछन् । उनका अनुसार बालविवाह गरेका कतिपय दम्पत्ति उमेरले परिपक्व भएपछि एकअर्कासँग बस्न नसक्ने निश्कर्षमा पुग्ने गरेका छन् । यस्तै श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा भएपछि एक्लोपनका कारण अन्य ब्यक्तितर्फ आकर्षित हुँदा सम्बन्धमा दरार आउने गरेको भेटिएको र यसमा सामाजिक सञ्जालले मद्दत गरेको अधिवक्ता केरुङको भनाइ छ ।

यस्तै मदिरा सेवनको लतका कारण परिवारले सङ्कट भोग्नु पर्दा सम्बन्ध नटिकेको उनले बताए । “मदिरा सेवनले आर्थिक अवस्था कमजोर हुनुका साथै परिवारमा माया प्रेम सकिँदै गएर सम्बन्ध नै समाप्त भएको पनि पाइन्छ”, उनले भने, “बेवास्ताका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको पाइन्छ । समाजलाई परिवार विखण्डनको पीडाबारे बोध गराउन ढिलो भइसकेको छ ।”

केरुङका अनुसार सम्बन्ध विच्छेदले धेरै बालबालिकाको भविश्य अन्धकारमा पारिरहेको छ । “हुन त सम्बन्ध विच्छेद भएकामध्ये ९० प्रतिशतभन्दा बढी घटनामा आमाले नै सन्तानको जिम्मेवारी लिने गरेको पाइन्छ । कानुनले पनि बालबालिका सावालक नभइञ्जेलसम्म आमाको साथबाट बञ्चित गर्न नहुने भनेको छ”, केरुङले भने, “तर आमाले अर्को विवाह गरेपछि वा एक्लै भएपनि सिङ्गो परिवार नहुँदा बाल मनोविज्ञानमा गम्भीर चोट लाग्ने गरेको छ ।” सम्बन्ध विच्छेदका लागि आउनेलाई परामर्श दिँदा धुरुधुरु रुने तर सम्बन्ध टिकाउने तयार नहुने गरेको केरुङको भनाइ छ ।

पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद ढुंगाना सम्बन्ध विच्छेदका कारण पहिचानतर्फ केन्द्रीत हुन जरुरी रहेको बताउछन । उनका अनुसार रोजगारीको अभावले सँगै रहन नपाएका दम्पत्तिको सम्बन्ध टिक्न कठीन पर्ने गरेको छ । “सम्बन्ध विच्छेद मनोवैज्ञानिक समस्याका रूपमा आम धारणा बन्दै गएको छ । सचेतनामार्फत परिवार र समाजका लागि त्याग र समर्पण भाव विकास गर्नुपर्छ”, ढुङ्गानाले भने, “अहिले आम मानिसले आफ्नो ब्यक्तिगत लाभ हेर्ने, तर परिवार र समाजलाई बेवास्ता गर्ने चलनले पनि सम्बन्ध विच्छेद र परिवारमा विखण्डन भइरहको छ ।”

क्षणिक आवेगमा परिवार र समाजप्रति नागरिक उत्तरदायी नहुँदा पारिवारिक संरचनामा खलल पुगेको र बालबालिका अभिभावकविहीन हुन थालेको ढुंगानाको भनाइ छ । यस्तै विगतमा जस्तो महिलाले अन्याय नसहँदा पनि सम्बन्ध विच्छेद हुने गरेको उनले बताए ।

 

प्रकाशित समय : ०६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु