गृहपृष्ठ बङ्गलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षरोपण
बङ्गलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षरोपण
गण्डकी । पोखरा भ्रमणमा आएका बङ्गलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रुपमा वृक्षरोपण गरेका छन् ।
दुई देशबीचको भाइचारा एवं मित्रताको प्रतिक स्वरुप आँपलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो । वृक्षरोपणबाट फोटो पत्रकारबीच थप सम्बन्ध सुदृढ हुने विश्वास लिइएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोगमा गरिएको वृक्षरोपणमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए।के।एम। मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तलगायत फोटो पत्रकारको सहभागिता थियो ।
समूहका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई वृक्षरोपणजस्ता सिर्जनशील कार्यले थप प्रेरणा मिल्ने बताए ।
अध्यक्ष मोहसिनको नेतृत्वमा आएको बङ्गलादेशी फोटो पत्रकारको टोलीले सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता भएको थियो । भेटमा दुईपक्ष हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो ।
प्रमुख आचार्यले अन्तरराष्ट्रिय बजारमा पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा पोखराको प्राकृतिक सुन्दरता, संस्कृति, आतिथ्यता एवं साहसिक पर्यटन गतिविधिको प्रचारप्रसार गरिदिन आग्रह गरेका थिए ।
बङ्गलादेशी फोटो पत्रकारले पोखराको प्राकृतिक सौन्दर्य र वातावरणले आकर्षित भएको बताएका थिए । १२ सदस्यीय टोलीमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिन, महासचिव बाबुल तालुकदार, पूर्वअध्यक्ष ए।बी।एम। रफिकुर रहमानलगायत रहेका छन् ।
भेटमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापालगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय : ११:०८ बजे

















