गृहपृष्ठ क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल

क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल

क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल

पाटन (ललितपुर), २५ साउन — ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक, कान तथा घाँटीसम्बन्धी क्यान्सरको उपचारमा आधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत विश्वस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ । अस्पतालले सन् २०१६ देखि ‘हेड एण्ड नेक अन्कोलोजी’ सेवा सञ्चालन गर्दै जटिल क्यान्सरको उपचारलाई एकीकृत प्रणालीमा अघि बढाएको जनाएको हो ।

अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गरिरहेको बताए । उनका अनुसार पछिल्लो समय धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने २० देखि ४० वर्ष उमेर समूहका युवामा समेत मुखको क्यान्सर बढ्दै गएको छ ।

“मुखमा लामो समयसम्म निको नहुने घाउ, सेतो वा रातो दाग, गाँठागुँठी वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग जाँच गराउनुपर्छ,” उनले भने, “प्रारम्भिक चरणमै क्यान्सर पहिचान भए उपचार सरल, कम खर्चिलो र सफल हुने सम्भावना बढी हुन्छ ।”

अस्पतालको नाक, कान तथा घाँटी विभागका प्रमुख एवं वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा. प्रभातचन्द्र ठाकुरका अनुसार अधिकांश बिरामी क्यान्सर तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै उपचारका लागि अस्पताल आउने गरेका छन् । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा जिब्रो, गिजा, गालाको भित्री भाग, तालु तथा मुखभित्र दुईदेखि तीन सातासम्म निको नहुने घाउ, सेतो वा रातो दाग वा अन्य असामान्य परिवर्तन देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उनले बताए ।

उनका अनुसार पछिल्लो समय नाक, कान तथा घाँटीको क्यान्सरका बिरामीको संख्या बढिरहेको छ । महिलामा थाइराइड क्यान्सरको समस्या पनि बढ्दै गएको उनले बताए । आफ्नो १० वर्षे उपचार सेवामा उल्लेख्य सफलता हासिल गरेको दाबी गर्दै उनले क्यान्सर पहिचान भएका बिरामीको समस्या एकदेखि दुई दिनमै पहिचान गरी उपचार सुरु गर्ने गरिएको जानकारी दिए ।

मुखको क्यान्सर प्रारम्भिक अवस्थामा सामान्य शारीरिक परीक्षणबाटै पहिचान गर्न सकिने भएकाले ‘सेल्फ ओरल एक्जामिनेसन’लाई राष्ट्रिय जनचेतना कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा डा. ठाकुरले जोड दिए । प्राथमिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा दन्त चिकित्सकलाई प्रारम्भिक पहिचानसम्बन्धी तालिम दिन सके ठूलो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

अस्पतालका मेडिकल निर्देशक डा. विजेशराज घिमिरेले १० वर्षको अवधिमा मुख तथा घाँटीको क्यान्सर उपचारमा अस्पतालले उल्लेखनीय सफलता हासिल गरेको बताए । उनका अनुसार अस्पतालमा हालसम्म पाँच हजारभन्दा बढी सफल शल्यक्रिया भइसकेका छन् । यसले अस्पतालको दक्षता र अनुभव पुष्टि गर्ने उनको दाबी छ ।

चिकित्सकहरूले मुखको क्यान्सरको प्रारम्भिक पहिचानमा दन्त चिकित्सक, ओरल हाइजिनिस्ट, प्राथमिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । उनीहरूका अनुसार आवश्यक तालिम दिएर समयमै विशेषज्ञ चिकित्सककहाँ सिफारिस गर्ने प्रणाली विकास गर्न सके प्रारम्भिक अवस्थामै धेरै बिरामीको उपचार गर्न सकिन्छ ।

मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न ठूलो बजेट आवश्यक नपर्ने भए पनि यसले प्रारम्भिक पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चिकित्सकहरूको भनाइ छ । सरकारले मुखको क्यान्सरको रोकथाम तथा प्रारम्भिक पहिचानलाई राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रमको प्राथमिकतामा राख्नुपर्ने उनीहरूले बताएका छन् ।

अस्पतालका रेडिएसन थेरापी विभाग प्रमुख डा. गिसुपनिख प्रसि तथा प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचार प्रविधि, अनुभवी चिकित्सक र बहुविषयगत उपचार सेवा उपलब्ध हुँदै गएको बताए । उनीहरूले समयमै रोग पहिचान, नियमित मुख परीक्षण तथा विशेषज्ञ उपचारमा पहुँच विस्तारका लागि सरकार, सञ्चारमाध्यम र स्वास्थ्यकर्मीको सहकार्यमा जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अस्पतालका अनुसार नेपालमा हरेक वर्ष करिब एक हजार ३ सय ६९ जनामा मुखको क्यान्सर पहिचान हुने गरेको छ भने करिब ८ सय ४३ जनाको यसबाट मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ, खैनी तथा अन्य धूमरहित सुर्तीजन्य पदार्थ, सुपारी, धूमपान र मदिरा सेवनलाई मुखको क्यान्सरका प्रमुख जोखिम तत्व मानिएको छ ।

मेडिकल निर्देशक डा. घिमिरेका अनुसार सुर्ती, सुपारी र मदिराको संयुक्त प्रयोगले क्यान्सरको जोखिम थप बढाउँछ । मुखको क्यान्सर रोकथाम गर्न सकिने भए पनि जोखिमयुक्त पदार्थको निरन्तर प्रयोग र लक्षण देखिएपछि उपचारमा हुने ढिलाइका कारण यसको भार चुनौतीका रूपमा रहेको उनले बताए ।

नेपालमा लक्षण सुरु भएपछि पहिलो स्वास्थ्य संस्थामा पुग्न औसत ३१ दिन, पहिलो स्वास्थ्य संस्थासँग सम्पर्क भएपछि क्यान्सर निदान हुन थप ४८ दिन र लक्षण सुरु भएको समयदेखि उपचार सुरु हुन करिब १ सय १० दिन लाग्ने गरेको डा. घिमिरेले जानकारी दिए । उनका अनुसार करिब २५ प्रतिशत बिरामीमा लक्षण सुरु भएको छ महिनाभन्दा बढी समयपछि मात्र उपचार सुरु हुने गरेको छ ।

ढिलो उपचार, जनचेतनाको कमी, विखण्डित उपचार प्रणाली, जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार तथा पुनःनिर्माण सेवाको सीमिततालाई नेपालमा नाक, कान तथा घाँटीसम्बन्धी क्यान्सर उपचारका प्रमुख चुनौतीका रूपमा लिइएको छ ।

यी चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटलले सन् २०१६ देखि ‘हेड एण्ड नेक अन्कोलोजी’ सेवा विकास गरेको जनाएको छ । जटिल क्यान्सरको उपचारका लागि शल्यचिकित्सकसँगै एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, अन्कोलोजी, नर्सिङ तथा पुनःस्थापनालगायत विभिन्न विधाका विशेषज्ञलाई एउटै उपचार प्रणालीमा जोडेर सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार यसको उद्देश्य क्यान्सरको शल्यक्रियामा मात्र सीमित नभई नेपालमै जटिलभन्दा जटिल टाउको, मुख तथा घाँटीको क्यान्सरको समयमै गुणस्तरीय उपचार गर्न सक्ने प्रणाली विकास गर्नु हो । आगामी दिनमा जटिल क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउँदै अत्याधुनिक शल्यचिकित्सा तथा पुनःनिर्माण सेवा विस्तार गर्ने लक्ष्य अस्पतालले लिएको जनाएको छ ।

प्रकाशित समय : ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु