गृहपृष्ठ यस्तो छ माछापुछ्रे ‘इन्क्लाइन’ परियोजना

यस्तो छ माछापुछ्रे ‘इन्क्लाइन’ परियोजना

यस्तो छ माछापुछ्रे ‘इन्क्लाइन’ परियोजना

गण्डकी । ठाडै उकालोमा २० हजार सिँढी पार गर्न कति समय लाग्ला रु एथलेटिक्स खेलाडीका लागि यो केही घण्टाको लक्ष्य हुन सक्छ । तर, जोकोहीका लागि भने यो चानचुने दुरी होइन । खेलाडीदेखि पदयात्री पर्यटकसम्मलाई साहस र रोमाञ्चकताको अनुभूति दिलाउन झण्डै सात किमि दुरीमा नयाँ पदमार्ग बन्ने भएको छ । जसलाई माछापुछ्रे ‘इन्क्लाइन’ परियोजनाका रुपमा अघि बढाइएको छ ।

परियोजना तोकिएकै समयमा कार्यान्वयनमा आएमा देशकै पर्यटन क्षेत्रका लागि यो नयाँ ‘प्रडक्ट’ हुनेछ । कास्कीको माछापुछ्रे गाउँपालिका–९ मा सञ्चालन हुने परियोजनाअन्तर्गत समुद्री सतहदेखि ११ सय मिटरमा रहेको सैँतीघट्टदेखि ३८ सय मिटरको उचाइमा अवस्थित कोर्चाङसम्म अन्तर्राष्ट्रिय मापदण्डसहितको पदमार्ग बन्ने जनाइएको छ । पर्यटन व्यवसायी एवं परियोजनाका परिकल्पनाकार गणेशबहादुर थापाका अनुसार उक्त पदमार्ग ४५ डिग्रीसम्म ठाडो हुनेछ ।

आफू अमेरिका भ्रमणमा गएका बेला कोलोराडोमा यस्तै पदमार्ग देखेपछि माछापुछ«े ‘इन्क्लाइन’को जुक्ति फुरेको उहाँले सुनाए । दुई वर्षअघि खुमैडाँडाको पदयात्राका क्रममा कोर्चाङदेखि सैँतीघट्टको ओरालो झर्दा उहाँमा त्यो सोच पलाएको थियो । पछि उनीसहित माछापुछ्रे गाउँपालिकाको पहल र अगुवाईमा परियोजनाको प्रस्तावले मूर्त रुप लियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म प्रस्ताव पेश भयो ।

“यो नेपालका लागि पहिलो र नमुना परियोजना हो”, उहाँले भन्नुभयो, “सरकारले यसको अपनत्व लिइसकेको छ, छिट्टै परियोजनामा कार्यान्वयनमा जान्छ भन्नेमा हामी विश्वस्त छौँ ।” केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेल, मन्त्रालयका सचिवसहितको टोलीले प्रस्तावित परियोजनास्थलको अवलोकनसमेत गरेको थियो । त्यस क्रममा मन्त्री पौडेलले परियोजनाका लागि सरकारका तर्फबाट बजेटको कमी हुन नदिइने प्रतिबद्धता जनाएको थियो ।

तीन वर्षभित्रमै काम सक्ने गरी परियोजना अगाडि बढाइने उहाँको भनाइ थियो । माछापुछ«े हिमालको फेदमा बन्ने यो परियोजनाले संसारभरका पर्यटक तथा साहसिक खेलाडीलाई आकर्षित गर्ने थापाले बताए । उनका अनुसार सर्वसाधारणका लागि २० हजार सिँढी पार गर्न तीन दिन लाग्ने अनुमान गरिएको छ । “म्याराथनका खेलाडीले कम समयमै पार गर्न सक्छन्, तर सामान्य मानिसलाई दिनमा पाँच हजारभन्दा बढी सिँढी पार गर्न गाह्रो हुन्छ”, उनले भने ।

हरेक सिँढी चढ्दा नयाँ उचाइ हासिल हुने गरी संरचना बनाउने योजना रहेको थापाले बताए । पदमार्ग निर्माण हुँदा सिँढीको संख्या केही घटबढ हुन सक्ने उनको भनाइ छ । स्थानीय ढुङ्गा प्रयोग गरेर बनाइने सिँढी दस फिट चौडा र छ इञ्ज अग्लो हुने उनले बताए ।

मेगा परियोजना भएकाले यसमा सरकारले लगानीसँगै स्थानीयवासीको सहभागितालाई पनि सुनिश्चित गर्नुपर्ने थापाले बताए । सहकारी र सामुदायिक ढाँचामा प्रभावित क्षेत्रका बासिन्दालाई परियोजनामा जोड्नुपर्ने उनको भनाइ छ । उक्त पदमार्गलाई एथलेटिक्स खेलको प्रतियोगिता तथा तालिम केन्द्रका रुपमा विकास गर्न सकिने जनाइएको छ । खेलाडी मात्र नभएर विश्वभरका पर्यटक हिमाली भेगको पदयात्राको नयाँ अनुभव बटुल्न यहाँ आउने विश्वास गरिएको छ ।

माछापुछ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले चालु आवमा पर्यटन मन्त्रालयबाट परियोजनाका लागि रु। पाँच करोड विनियोजन भएको बताए । मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डसहितको ‘माछापुछ्रे इन्क्लाइन स्टेप्स रनिङ ट्रेल निर्माण’का लागि उक्त बजेट विनियोजन गरेको हो ।

गत आवमा रु। तीन करोड बजेट छुट्टिएकामा ‘जेन्जी’ आन्दोलनलगायत विविध कारणले काम सुरु हुन सकेको थिएन । “पर्यटन मन्त्रीले बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाएको छ, बहुवर्षीय आयोजनाअन्तर्गत यस वर्ष रु। पाँच करोड विनियोजन भएको छ”, उनले भने, “पर्यटन मन्त्रालयले नै परियोजना कार्यान्वयन गर्छ, स्थानीयस्तरमा गाउँपालिकाले समन्वय गर्दै आएको छ ।”

परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कनको प्रकृया पनि अगाडि बढेको अध्यक्ष गुरुङले बताए । यसअघि गाउँपालिकाले बनाएको विस्तृत परियोजना प्रतिवेदन थप परिमार्जन हुने उहाँको भनाइ छ । परियोजना निर्माणमा झण्डै ५० करोड लागत अनुमान गरिएको छ । पदमार्गमा ठाउँठाउँमा विश्रामका लागि चौतारी, उद्यान, तलाउ, शौचालयलगायत संरचना बन्नेछन् ।

यस्तै हरेक पाँच सय मिटरमा चिया पसल, प्राथमिक उपचार केन्द्र रहने जनाइएको छ । होटल, हेलिप्याड, अस्पताललगायत संरचना निर्माणलाई पनि विस्तृत परियोजना प्रतिवेदनमा समेटिएको छ । सिँढी चढेर माथि पुगेपछि फर्कनका लागि छुट्टै पदमार्ग बनाउने योजना छ । यस्तै बीचमै यात्रा राकेर फर्कर्नेका लागि बाहिर निस्कने छुट्टै मार्ग रहने जनाइएको छ । पदमार्गमा जनावर ओहोरदोहोर गर्नका लागि छुट्टै मार्ग बन्नेछ ।

ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल ९टान०, गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले माछापुछ्रे इन्क्लाइन’लाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । अल्ट्रा दौडका लागि विश्वभरका धावकहरु यहाँ आकर्षित हुने उहाँको भनाइ छ । “हिमाली क्षेत्रमा ३८ सय मिटर उचाइसम्म हिँड्न र दौडनका लागि पनि खेलाडीहरु यो पदमार्गमा लालयित हुनेछन्”, उनले भने, “खेलाडी मात्र नभएर साहसिक गतिविधि रुचाउने सौखिन पर्यटकका लागि पनि यो आकर्षक गन्तव्य बन्छ ।”

माछापुछ्रे ‘इन्क्लाइन’ परियोजना सञ्चालनमा आउँदा पर्यटकीय राजधानी पोखरा मात्र नभएर देशले नै लाभ लिने अध्यक्ष आचार्यले बताउनुभयो । परियोजना प्रारम्भिक चरणमै रहेकाले यसको सफल कार्यान्वयनका लागि सम्बद्ध सबै पक्ष लागिपर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु