गृहपृष्ठ प्रतिनिधिसभा : रेविज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा : रेविज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ।प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो, चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् ।
बैठकको नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी खोरिडोरको खोलामा पुल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पु¥याउन समस्या भएको भन्दै चाँडे निर्माण गर्न सरकारसँग माग गरे ।
राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सांसद लेखजङ्ग थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेविज सङ्क्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग अपिल गरे । उनले ५० भन्दाबढी जनावरमा लक्षण देखिएको र १५ वटा जनावर मरिसकेको जानकारी गराए ।
नेकपाका सांसद रमेशकुमार मल्लले चिकित्सा शिक्षा आयोगले गत असार ११ गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको पहिलो हप्तामा चिकित्सा शिक्षासम्बन्धी १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदनको सूचना सार्वजनिक गर्नुपर्नेमा सरकारले आयोगका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि अन्योलमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
रास्वपाका सांसद शम्भुकुमार यादवले सुनसरी घटनाको विषयलाई लिएर राज्य सचेत हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
रास्वपाका सांसद भरत पराजुलीले विपी राजमार्गमा साउन १८ गते सिन्धुलीमा बस र कारको ठक्करमा परी चारजना सवार सुनकोसी नदीमा परेको तर अहिलेसम्म खोजी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।
रास्वपाका सांसद अरबिन्द साहले सुनसरी घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा त्यस्ता घटना दोहरिन नदिन सरकार सचेत हुनुपर्ने बताए ।
प्रकाशित समय : १५:३२ बजे



















