काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमरसिंह थापाको इतिहास संरक्षणमा योगदान पुर्‍याएको भन्दै पूर्वअध्यक्ष राजु गुरुङ सम्मानित

2.18K
shares

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ सम्मानित भएका छन्। राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले अमरसिंह थापाको इतिहासको खोज, संरक्षण र प्रवर्द्धनका साथै उनको पहिचान स्थापित गर्न राज्यस्तरमा योगदान पुर्‍याएको भन्दै गुरुङलाई त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्मान गरेको हो। प्रतिष्ठानका अध्यक्ष गणेश थापाले अमरसिंह थापाको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन गुरुङले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।

संस्कृति तथा इतिहासविद् जगमानसिं गुरुङका अनुसार नेपाल एकीकरण अभियानका प्रमुख सेनापति बडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको थियो। यसअघि इतिहासविद् दिनेशराज पन्त र जगमानसिं गुरुङले अमरसिंह थापाको जन्मस्थलको स्थलगत अध्ययनसमेत गरेका थिए।

पूर्वअध्यक्ष गुरुङको पहलमा सिरानचोकको अमरपुर क्षेत्रमा अमरसिंह थापा र उनका पिता भीमसिंह थापाको शालिक निर्माण गरिएको छ। स्थानीयवासीले जग्गा दान गरी ऐतिहासिक स्थलको संरक्षण र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएका छन्।

प्रतिष्ठानका अनुसार गुरुङले अमरसिंह थापाको जन्मस्थललाई राष्ट्रिय पहिचान दिलाउने अभियान अघि बढाएका कारण उनलाई सम्मान गरिएको हो। स्थानीयवासीले पनि उनको अभियानको प्रशंसा गर्दै ऐतिहासिक सम्पदाको संरक्षण र विकासमा थप पहल आवश्यक रहेको बताएका छन्।

बडाकाजी अमरसिंह थापा नेपाल एकीकरण अभियानका प्रमुख सैन्य नायक तथा कुशल रणनीतिकारका रूपमा परिचित छन्। उनले पश्चिम नेपालको एकीकरण, राज्यको सीमाविस्तार तथा नेपाल–अंग्रेज युद्धमा देखाएको नेतृत्वका कारण नेपाली इतिहासमा विशिष्ट स्थान बनाएका छन्। इतिहासविद्हरूले गोरखामा रहेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न सके ऐतिहासिक पर्यटन विकासमा टेवा पुग्ने बताएका छन्।