गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न
प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म आयोजित सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को समीक्षा, आगामी आर्थिक वर्ष २०८३/८४ को रणनीति, उत्कृष्ट कर्मचारी तथा शाखाको सम्मान र व्यवसायिक क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। उनले गत आर्थिक वर्षमा कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय व्यवसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै कर्मचारी, अभिकर्ता तथा बीमितप्रति आभार व्यक्त गरे। साथै आगामी आर्थिक वर्षको व्यवसायिक रणनीतिबारे जानकारी गराउँदै लक्ष्य हासिल गर्न आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।
कार्यक्रममा कम्पनीका व्यवस्थापन तह, प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जिक्युटिभसहित देशभरबाट करिब २०० जनाको सहभागिता रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख र सेल्स एक्जिक्युटिभलाई विशेष सम्मान गरिएको थियो।
सम्मेलनका क्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। उक्त प्रशिक्षणले सहभागीहरूको व्यवसायिक क्षमता र नेतृत्व विकासमा ऊर्जा थपेको कम्पनीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले विगतका अनुभवबाट सिक्दै सुधारसहित अघि बढेमा कम्पनीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
यस्तै, कम्पनीका नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोनबहादुर मगरले आर्थिक वर्ष २०८३/८४ को व्यवसायिक रणनीतिबारे प्रस्तुति दिएका थिए।
प्रकाशित समय : ०८:३२ बजे



















