गृहपृष्ठ नेपाल एकीकरण इतिहासमा अमरसिंह थापाले गरेको योगदान स्मरण
नेपाल एकीकरण इतिहासमा अमरसिंह थापाले गरेको योगदान स्मरण
काठमाडौँ । विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देहत्याग गरेका नेपाल एकीकरणमा योगदान गरेका राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औँ स्मृति दिवस मनाइएको छ ।
राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा विसं १८०० मा नुवाकोट विजय गरेर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले शिलान्यास गरेको नेपाल एकीकरण अभियानमा अमरसिंह थापाले पु¥याएको योगदानका विषयमा स्मरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गदै सर्वोच्च अदालतका न्यायधीश मेघराज पोखरेलले अमरसिंह थापा इतिहासको असाधारण व्यक्तित्व भएको बताए । राष्ट्रनिष्ठा र स्वाभिमानले युक्त थापाले प्रलोभन आउँदा ‘म बाघको बच्चा ९डमरु० हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिएको अभिव्यक्तिले नै उनको व्यक्तित्व प्रस्ट हुने बताए । सबै नेपालीले अमरसिंहको चरित्र बोक्नुपर्ने समय आएको न्यायधीश पोखरेलले बताए । स्वाभिमानबाट बनेको अमरसिंहको इतिहास कसैले मार्न चाहेर नमर्ने पनि उनको भनाइ थियो ।
वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले कुमाउ, गढवाल, काँगडालगायतका स्थल अमरसिंहले नेपालमा गाभ्न सफल भएको जानकारी दिए । यस्ता व्यक्तित्वका नाममा ऐतिहासिक सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट सहयोगको पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए । अर्का वाग्मती प्रदेशसभा सदस्य उद्धव थापाले धादिङको केवलपुरमा निर्माण भएको बडाकाजी अमरसिंह धामको विकासका लागि वाग्मती प्रदेश सरकाबाट सहयोगका लागि पहल गर्ने बताए ।
इतिहास एवं संस्कृति विषयका प्रा डा राजाराम सुवेदीले अन्य बाइसे, चौबिसे राज्यमा नभएको एकीकरणरमा मरेका सेनाका परिवारलाई मरवटबापत जग्गा दिने प्रचलनले नै गोरखा राज्यले नेपालको एकीकरण गर्न सफल भएको बताए ।
अमरसिंहका विषयमा विद्यावारिधि शोध गरेका प्रा डा इन्दिरा जोशीले नुवाकोट जितेको २५ वर्षपछि पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गरेको जानकारी गराउदै त्यो युद्धमा अमरसिंह पनि सक्रिय सहभागी भएको स्मरण गरे। अमरसिंहको निडरता र निष्पक्षताको सबै नेपालीले अनुसरण गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गोरखाको सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङलाई सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष हुँदा उनले अमरसिंहको स्मृति दिवस पारेर प्रत्येक वर्ष साउन १६ गते पालिकास्तरमा सार्वजनिक बिदा दिने निर्णय गराएको थियो ।
सम्मानित भएपछि कार्यक्रमलाई सम्बोधन गदै उनले विसं १८०८ मा गोरखाको सिरानचोकमै अमरसिंह जन्मेको प्रमाण आफूले विभिन्न पुस्तकमा प्राप्त गरेपछि स्मृति दिवसमा पालिकास्तरमा सार्वजनिक बिदा दिने निर्णय गराएको बताए । सिरानचोकका डाँडामा पाँच÷पाँच किलोमिटरको दूरीमा गढी रहेकाले त्यसको संरक्षणका साथ प्रचारप्रसार पनि गरिनुपर्ने पनि उनले बताए ।
नेपाली सेनाका पूर्वसहायक रथी एवं सैनिक इतिहासविद् डा प्रेमसिंह बस्नेतले पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म नेपालको सीमा विस्तार गर्ने काममा अमरसिंहको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरे । अमरसिंहले विसं १८२० मा धुलिखेलको युद्धदेखि लडाइँ लड्न सुरु गरेको पनि उनले कार्यक्रममा जानकारी गराए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष बाबुरमसिंह थापाले अमरसिंहले सुगौली सन्धिलाई स्वीकार नगरी त्यही कारणले विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देहत्याग गरेको बताए । देशको माया गर्ने अमरसिंह जस्ता व्यक्तित्वलाई भावी पुस्ताले सम्झने माध्यम बनाउनकै लागि प्रतिष्ठान स्थापना गरिएको जानकारी पनि उनले गराए।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश थापा, वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर कार्की, कवयित्री डा शशी पण्डित, प्रा डा श्रीरामप्रसाद उपाध्यायलगायतले नेपाल एकीकरणको इतिहासमा अमरसिंहले खेलेको भूमिकाबारे चर्चा गरेको थियो ।
प्रकाशित समय : २०:१५ बजे


















