गृहपृष्ठ कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
चितवनन । यहाँको कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ । जिल्लामा रहेका सात पालिकामध्ये पहिलो पटक यस पालिकाले भूमि व्यवस्थापन सेवा सुरु गरेको हो
नगरप्रमुख विनोद रेग्मीका अनुसार नगरपालिकाले नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रुपमा थालनी गरेको हो । नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण हालसम्म यी सेवा सङ्घीय सरकारअन्तर्गतका भूमिसुधार, मालपोत तथा नापी कार्यालयमार्फत प्रवाह हुँदै आएको थियो । आवश्यक तयारी पूरा गरेपछि कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
नगरपालिकाबाट सेवा सुरू भएसँगै कालिकाका ११ वटै वडाका नागरिकले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीयस्तरमै पाउने भएका छन् । यसअघि त्यस नगरपालिकाका बासिन्दाले भरतपुरमा रहेको मालपोत र नापी कार्यालयबाट सेवा लिँदै आएका थिए । शाखा स्थापनासँगै सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै स्थानीयस्तरमै छिटो, सहज र प्रभावकारी सेवा प्रवाह हुने उनले बताए ।
हालका लागि जग्गाको स्रेस्ता कायम गर्ने सेवा भने भरतपुरबाट हुनेछ । अन्य अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्रदान गरिनेछ ।
भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीले जग्गा धनी दर्ता प्रमाणपुर्जा, लिखत पारित, मृत्यु पछिको नामसारी, राजिनामा दस्तखत पारित, छोडपत्र लिखद पारित, बकसपत्र पारित तथा शेषपछिको लिखतबापतलगायत काम त्यही हुनेछ । जिल्लामा भरतपुरसँगै चनौली, माडी र खैरहनीमा मालपोत र नापी कार्यालयले सेवा दिँदै आएका छन् ।
प्रकाशित समय : १३:५१ बजे


















