global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

पाकिस्तानको कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

दक्षिणी पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित कोइला खानीमा मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा ३४ जना खानी मजदुरको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले शुक्रबार बिहान मृत्युको पुष्टि गर्दै अझै केही मजदुर बेपत्ता रहेकाले संयुक्त उद्धार अभियान निरन्तर जारी रहेको जनाएको छ ।

अधिकारीहरूका अनुसार बिहीबार बलुचिस्तानको राजधानी क्वेटानजिक रहेको कोइला खानीमा मिथेन ग्यासका कारण शक्तिशाली विस्फोट भएको थियो । विस्फोटपछि खानीभित्र ठूलो क्षति पुगेको र उद्धार टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो ।

पीडीएमएले जारी गरेको विज्ञप्तिअनुसार घटनास्थलबाट हालसम्म ३४ जनाको शव निकालिएको छ । साथै, खानीभित्र अझै फसेका मजदुरहरूको खोजी र उद्धारका लागि विभिन्न निकायको संयुक्त टोली परिचालन गरिएको जनाएको छ । विस्फोट भएको समयमा खानीभित्र कति जना मजदुर कार्यरत थिए भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

पाकिस्तानमा, विशेषगरी खनिज स्रोतले धनी तर पूर्वाधार र सुरक्षा व्यवस्थामा कमजोर मानिने बलुचिस्तान प्रान्तमा यस्ता खानी दुर्घटना पटक–पटक हुने गरेका छन् । सुरक्षा मापदण्डको कमजोर कार्यान्वयन, अपर्याप्त प्रविधि र जोखिमपूर्ण कार्य वातावरणका कारण खानी क्षेत्रमा ज्यान गुमाउने घटना दोहोरिने गरेको विश्लेषकहरू बताउँछन् ।

भूभागका हिसाबले पाकिस्तानकै सबैभन्दा ठूलो तथा आर्थिक रूपमा सबैभन्दा पछाडि परेको बलुचिस्तान प्रान्त शिक्षा, रोजगारी, पूर्वाधार र आर्थिक विकासलगायत अधिकांश सामाजिक तथा आर्थिक सूचकमा देशका अन्य प्रान्तभन्दा पछि रहेको मानिन्छ ।

 

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु