global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण एसियाको इन्टरनेट पूर्वाधार सुदृढ गर्न एपीएनआईसी र सानोगबीच साझेदारी

दक्षिण एसियाको इन्टरनेट पूर्वाधार सुदृढ गर्न एपीएनआईसी र सानोगबीच साझेदारी

दक्षिण एसियाको इन्टरनेट पूर्वाधार सुदृढ गर्न एपीएनआईसी र सानोगबीच साझेदारी

काठमाडौं । दक्षिण एसियामा इन्टरनेट पूर्वाधार सुदृढ गर्ने, प्राविधिक जनशक्ति विकास गर्ने तथा सुरक्षित र भरपर्दो इन्टरनेट प्रवर्द्धन गर्ने उद्देश्यले एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपीएनआईसी) र साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुप (सानोग) बीच समझदारी भएको छ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा एपीएनआईसीका महानिर्देशक जिया रोङ लो र सानोगका अध्यक्ष रूपेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीले खुला, सुरक्षित, स्थिर र विश्वसनीय इन्टरनेट विकासका लागि दुवै संस्थाबीच सहकार्यको आधार तय गरेको जनाइएको छ।

समझदारीअनुसार दुवै संस्थाले दक्षिण एसियाका नेटवर्क इन्जिनियर तथा अपरेटरका लागि संयुक्त प्राविधिक तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, इन्टरनेट पूर्वाधारलाई थप सुरक्षित र प्रभावकारी बनाउन आईपीभी–६ (IPv6), रिसोर्स पब्लिक की इन्फ्रास्ट्रक्चर (RPKI) र रुट ओरिजिन भ्यालिडेसन (ROV) जस्ता प्रविधिको प्रयोग विस्तारमा जोड दिइनेछ।

ज्ञान आदानप्रदानलाई प्रभावकारी बनाउन सानोग सम्मेलनसँगै एपीएनआईसीका उप–क्षेत्रीय कार्यक्रम आयोजना गरिनेछन्। प्रत्येक कार्यक्रममा पाँच जनासम्मका सहभागीलाई निमन्त्रणा तथा निःशुल्क दर्ताको सुविधा उपलब्ध गराइने सहमति भएको छ।

समझदारीअन्तर्गत सानोगले एपीएनआईसीका नीति तथा सामुदायिक कार्यक्रममा दक्षिण एसियाली सहभागिता बढाउन सहयोग गर्नेछ भने एपीएनआईसीले सानोगका तालिम, कार्यशाला र सम्मेलनका लागि दक्ष प्रशिक्षक तथा वक्ता उपलब्ध गराउनेछ।

दुवै संस्थाले यस सहकार्यबाट दक्षिण एसियाली प्राविधिक समुदायबीच सहकार्य विस्तार हुने, विश्वव्यापी इन्टरनेट गभर्नेन्समा क्षेत्रीय सहभागिता बढ्ने र डिजिटल पूर्वाधारको दीर्घकालीन विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन्।

एपीएनआईसी अस्ट्रेलियाको ब्रिसबेनस्थित गैरनाफामूलक संस्था हो, जसले एसिया–प्रशान्त क्षेत्रको क्षेत्रीय इन्टरनेट रजिस्ट्रीका रूपमा आईपी एड्रेस व्यवस्थापन, प्राविधिक तालिम र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

त्यस्तै, काठमाडौंमा सचिवालय रहेको सानोग दक्षिण एसियाका नेटवर्क अपरेटर, इन्जिनियर तथा सूचना प्रविधि विज्ञहरूबीच सहकार्य, ज्ञान आदानप्रदान र इन्टरनेट पूर्वाधार विकासलाई प्रवर्द्धन गर्ने गैरनाफामूलक क्षेत्रीय संस्था हो।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु