global ime bank Long Banner Ad

गृहपृष्ठ करेसाबारीमार्फत रस्टी–स्पटेड क्याट संरक्षणको प्रयास

करेसाबारीमार्फत रस्टी–स्पटेड क्याट संरक्षणको प्रयास

करेसाबारीमार्फत रस्टी–स्पटेड क्याट संरक्षणको प्रयास

बर्दिया । विश्वकै सबैभन्दा सानो जङ्गली बिरालो मानिने रस्टी–स्पटेड क्याट (खिया थोप्ले बिरालो) को संरक्षणलाई स्थानीय समुदायको जीविकोपार्जनसँग जोड्ने उद्देश्यले बर्दियामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ।

ठाकुरबाबा नगरपालिका–९, खुशालपुरमा आयोजित कार्यक्रममा १४ जना स्थानीय सहभागी भएका थिए। उनीहरूलाई प्राङ्गारिक तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन तथा दिगो कृषि अभ्याससम्बन्धी एकदिने तालिम प्रदान गरिएको थियो। तालिमपछि सहभागीलाई कृषि औजार तथा मौसमी तरकारीका बीउबिजन वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम ‘स्मल वाइल्ड क्याट कन्जर्भेसन फाउन्डेसन’, मोहम्मद बिन जायेद स्पिसिज कन्जर्भेसन फन्ड र ‘रस्टी–स्पटेड क्याट वर्किङ ग्रुप बर्दिया’को सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रमको संयोजन रामजन चौधरीले गरेका थिए भने पशुचिकित्सक अशिष चौधरीले प्रशिक्षण दिएका थिए।

आयोजकका अनुसार घरघरमा करेसाबारीको विकास गर्न सके वनजन्य स्रोतमा निर्भरता घट्ने, वन क्षेत्रमा मानवीय चाप कम हुने र त्यसबाट वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसले वन डढेलोको जोखिम न्यूनीकरण, अवैध सिकार नियन्त्रण तथा रस्टी–स्पटेड क्याटका आहारा प्रजातिको संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

नेपाल, भारत र श्रीलङ्कामा मात्र पाइने रस्टी–स्पटेड क्याट विश्वकै सबैभन्दा सानो जङ्गली बिरालोमध्ये एक हो। यसको शरीरको लम्बाइ ३५ देखि ४८ सेन्टिमिटरसम्म र तौल करिब ०.९ देखि १.६ किलोग्रामसम्म हुने गर्छ। शरीरभरि रहेका खिया रङका साना थोप्लाका कारण यसलाई ‘खिया थोप्ले बिरालो’ पनि भनिन्छ।

यो प्रजाति मुख्यतः राति सक्रिय हुने, एक्लै बस्ने र लजालु स्वभावको हुन्छ। मुसा, साना स्तनधारी जनावर, चराचुरुङ्गी, छेपारो, भ्यागुता तथा विभिन्न कीराफट्याङ्ग्रा यसको प्रमुख आहारा हुन्। संरक्षणकर्मीका अनुसार मुसाको सङ्ख्या नियन्त्रणमार्फत पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न यस प्रजातिले महत्वपूर्ण भूमिका खेल्ने गर्छ।

कार्यक्रम संयोजक रामजन चौधरीका अनुसार विसं २०६९ मा बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको पहिलो पटक तस्बिरसहित अभिलेखीकरण गरिएको थियो। तालिम सञ्चालन गरिएको खुशालपुर क्षेत्र सोही आसपास पर्ने भएकाले स्थानीय समुदाय रस्टी–स्पटेड क्याट संरक्षणको महत्वपूर्ण साझेदार बन्न सक्ने उनले बताए।

तालिमका क्रममा सहभागीलाई वन डढेलो नियन्त्रण, अवैध सिकार रोकथाम, वन्यजन्तुको सडक दुर्घटना न्यूनीकरण तथा प्राकृतिक बासस्थान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु