गृहपृष्ठ सुरको साधनामा प्रमेन्द्र महर्जनको सात दशक
सुरको साधनामा प्रमेन्द्र महर्जनको सात दशक
बागमती ।हेटौँडाको हरिकुञ्ज रोडमा एउटा घर छ, जहाँ बिहान–साँझ सङ्गीतका स्वरहरू गुञ्जिरहन्छन् । त्यही घरमा भेटिन्छन्, वरिष्ठ सङ्गीतकार प्रमेन्द्र महर्जन । उमेरले ७० वर्ष नाघिसकेको भए पनि उनको उत्साह, ऊर्जा र सङ्गीतप्रतिको समर्पण भने आज पनि युवा कलाकारको जत्तिकै जीवन्त देखिन्छ ।
हेटौँडामा सङ्गीत सिक्न चाहने धेरै पुस्ताका लागि महर्जन केबल एक सङ्गीतकार होइन, एक गुरु, मार्गदर्शक र प्रेरणाका स्रोत पनि हुन् । पाँच दशकभन्दा लामो साङ्गीतिक यात्रामा उनले सयौँ कलाकार जन्माए करिब २५० गीतमा सङ्गीत दिए र मकवानपुरको साङ्गीतिक इतिहासमा आफ्नै छुट्टै पहिचान निर्माण गरे् ।
महर्जनको पुख्र्यौली घर काठमाडौँको कीर्तिपुरस्थित पाँगा हो । तर, कामको सिलसिलामा उहाँका बुबा हेटौँडा बसाइँ सरेपछि उहाँको बाल्यकाल यहीँ बित्यो । बुबा धनबहादुर महर्जन विभिन्न नाटकमा अभिनय गर्थे भने आमा नानीमायाले छोराको सङ्गीतप्रतिको रुचिलाई निरन्तर प्रोत्साहन दि । यही पारिवारिक वातावरणले बालक प्रमेन्द्रलाई सङ्गीततर्फ डो¥यायो ।
उनले साङ्गीत यात्रा २०२६ सालमा भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित सांस्कृतिक कार्यक्रमबाट सुरु भएको थियो । उनले तत्कालीन समयमा हार्मोनियम वादकका रूपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएको थिए।
महर्जन आफ्नो सफलताको श्रेय आमालाई दिन्छन् । “आमाले पैसा खर्च गरेर पनि मलाई विभिन्न मेला–महोत्सवमा लैजानुहुन्थ्यो, त्यही वातावरणले सिक्ने अवसर दियो, आज सङ्गीत क्षेत्रमा केही गर्न सक्नुको आधार नै त्यही प्रेरणा हो”, उनि सम्झन्छन् । त्यतिबेला सङ्गीतका सामग्री निकै महँगा थिए । तर, आमाले आवश्यक वाद्ययन्त्र किनिदिन कहिल्यै पछि हट्े्नन् ।
उनको घरमा त्यसबेला नवकला कुञ्जको कार्यालय भाडामा बसेको थियो । कलाकारहरूको जमघट, नियमित पूर्वाभ्यास र सङ्गीतमय वातावरणले उनको रुचिलाई अझ गहिरो बनायो । साथै, तत्कालीन हेटौँडामा बसोबास गर्ने उस्ताद भोला जोशीसँगको सङ्गतले पनि उनको साङ्गीतिक ज्ञान विस्तार ग¥यो ।
महर्जनले आधुनिक, सुगम, लोकलयमा आधारित, भक्ति, राष्ट्रिय तथा जनवादी गरी करिब २५० गीतमा सङ्गीत भरेका छन् । उनले पहिलोपटक गीतकार नरहरिनन्द खरेलको रचना तथा उत्तम खरेलको स्वर रहेको ‘हे दूर गगनका ताराहरू’ गीतमा सङ्गीत दिएको थिए ।
त्यसपछि उनको सङ्गीत यात्रा निरन्तर अघि बढ्दै गयो । विभिन्न राष्ट्रिय पर्व, मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा उनले सङ्गीत संयोजन गरे।
उनले नारायण गोपाल, अरुण थापा, दीपक जङ्गम, सुनिता सुब्बा, हिरण्य भोजपुरे, पेमा छिरिङलगायत चर्चित स्रष्टासँग प्रत्यक्ष सहकार्य गर्ने अवसर पनि प्राप्त गरे।
महर्जनको सबैभन्दा ठूलो योगदान सम्भवतः आफ्ना सिर्जनाभन्दा पनि सङ्गीत सिकाउने अभियान हो । उनले २०३५ सालदेखि अनौपचारिक रूपमा सङ्गीत प्रशिक्षण दिन सुरु गरे । त्यसलाई संस्थागत बनाउन २०४५ सालमा मकवानपुर सांस्कृतिक केन्द्र स्थापना भयो । त्यसअन्तर्गत सङ्गीत विभाग गठन गरी नियमित प्रशिक्षण सुरु गरियो ।
त्यसपछि हेटौँडा मात्र होइन, कमाने, नागसोती, चौघडा, बस्तीपुर, भीमफेदी, अमलेखगञ्ज, पशुपतिनगरलगायत क्षेत्रबाट विद्यार्थीहरू सङ्गीत सिक्न आउन थाले । महर्जनका अनुसार, दुई सयभन्दा बढी सङ्गीतकर्मी उनको प्रशिक्षणबाट तयार भएका छन्, जो अहिले देशका विभिन्न क्षेत्रमा सक्रिय छन् ।
सङ्गीतकार मात्र होइन, महर्जन विभिन्न सांस्कृतिक संस्थाका नेतृत्वकर्ता पनि रह्को छन् । उनि २०५६ सालदेखि करिब साढे चार वर्ष भानुकला केन्द्रमा सङ्गीत प्रबन्धक रहे । विसं २०६४ मा पोखरास्थित डाँफे कला मन्दिरमा वाद्यवादकका रूपमा पनि काम गरे ।
यसबीच उनि हेटौँडा मोडल चारपाते क्लब, मुर्छना सङ्गीत समूह, सङ्गत समाज मकवानपुरलगायत संस्थाको अध्यक्ष बने । राष्ट्रिय कलापरिषद् तथा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानजस्ता संस्थामा उहाँले सल्लाहकारको भूमिका निर्वाह गरेका छव् ।
सांस्कृतिक क्षेत्रमा मात्रै होइन, ज्येष्ठ नागरिकका अधिकारका पक्षमा पनि उनि सक्रिय छन्। हाल उनि ज्येष्ठ नागरिक वडा मञ्च, हेटौँडा–२ का संयोजक हुन ।
लामो साङ्गीतिक योगदानको सम्मानस्वरूप महर्जनले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छ न्। विसं २०५५ मा उहाँ मकवानपुर सङ्गीत प्रतिभा पुरस्कारबाट सम्मानित भए । त्यसपछि नित्य गोविन्द स्मृति सङ्गीत पुरस्कार, कमला भवानी सङ्गीत पुरस्कार, ‘मकवानपुर श्री’ सम्मानलगायत विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानदेखि विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले उहाँको योगदानको कदर गरेका छन् ।
रेडियो नेपालदेखि एल्बमसम्म
महर्जनका सिर्जनाले रेडियो नेपालदेखि साङ्गीतिक एल्बमसम्म स्थान पाएका छन् । विसं २०५६ मा मनहरि थापाको स्वरमा ‘जिन्दगी लिएर के गरौँ’ गीत रेडियो नेपालबाट रेकर्ड भयो । त्यसपछि उहाँको एकल सङ्गीत एल्बम ‘अभिलाषा’ पलायो ।
उनका शब्द तथा सङ्गीतमा तुलुक लामाको स्वर रहेको ‘लाग्छ तिमीले मलाई’, राजेश मानन्धरको स्वरमा रहेको ‘सपनीमा हैन विपनीमा मेरो’, शम्भुप्रसाद बास्कोटा तथा घनश्याम ढकालले गाएका ‘जिन्दगी नै एक खेल हो’ र ‘जुनेली रातमा को होला’लगायतका गीतले पनि स्रोतामाझ स्थान बनाएका छन् । उनको गीत तथा भक्ति सङ्गीतको सङ्ग्रह ‘साङ्गीतिक अनुभूति’ समेत प्रकाशित भइसकेको छ ।
अहिले पनि महर्जन विश्राममा बसेका छैनन । उनि हाल पिएम सेन्टर सङ्गीत विभागका अध्यक्षका रूपमा सक्रिय हुनुहुन्छ । विभागमार्फत भक्ति सङ्गीतको संरक्षण, सङ्गीतकर्मीबीच एकता र नयाँ पुस्तालाई प्रशिक्षण दिने अभियान सञ्चालन भइरहेको छ ।
विभागका महासचिव तथा कार्यक्रम संयोजक गहन खतिवडाका अनुसार, हरेक शनिबार अपराह्न ४ः०० बजे हेटौँडाको भुवनेश्वर पशुपति मन्दिर परिसरमा चर्चित कलाकारहरूको सहभागितामा नियमित भक्ति सङ्गीत कार्यक्रम आयोजना गरिन्छ ।
यस अभियानको उद्देश्य केवल सङ्गीत प्रस्तुत गर्नु मात्र होइन, धार्मिकस्थलमा साङ्गीतिक वातावरण सिर्जना गर्दै आध्यात्मिक जागरण, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्नु पनि हो ।
सात दशकको जीवनमा पाँच दशकभन्दा लामो साङ्गीतिक साधना, सयौँ शिष्य, सयौँ सिर्जना र दर्जनौँ सम्मान, यी सबैले महर्जनलाई मकवानपुरको सांगीतिक इतिहासमा एक संस्थाका रूपमा स्थापित गरेका छन् ।
उनको यात्रा एउटा कलाकारको व्यक्तिगत सफलताको कथा मात्र होइन, सङ्गीतलाई पुस्तान्तरण गर्ने, समाजलाई संस्कृतिसँग जोड्ने र स्थानीय सङ्गीतलाई जीवन्त राख्ने अभियानको कथा पनि हो । आज पनि उनको हार्मोनियमका सुरहरू हेटौँडाको साङ्गीतिक भविष्यलाई नयाँ पुस्तासम्म पु¥याइरहेका छन् ।
प्रकाशित समय : १५:३६ बजे


















