गृहपृष्ठ गण्डकीमा विविध कार्यक्रम गरी मनाइयो बिपी स्मृति दिवस
गण्डकीमा विविध कार्यक्रम गरी मनाइयो बिपी स्मृति दिवस
पोखरा । नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ४४औँ स्मृति दिवस गण्डकी प्रदेशका विभिन्न जिल्लामा बुधबार विविध कार्यक्रम गरी मनाइएको छ।
नेपाली कांग्रेस कास्कीले दिवसका अवसरमा विद्यार्थीबीच ‘बिपीबाट आजका युवाले के सिक्ने ?’ विषयमा वक्तृत्वकला प्रतियोगिता तथा पोखराको पर्यटनसम्बन्धी नीति लेखन प्रस्तुतीकरण प्रतियोगिता आयोजना गर्यो।
पर्यटन नीति लेखन प्रस्तुतीकरण प्रतियोगितामा ११ जनाको सहभागिता थियो। प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदीप सिग्देल द्वितीय र सङ्गीता गौतम तृतीय भए। उनीहरूलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरियो।
वक्तृत्वकला प्रतियोगितामा एसओएसकी प्रेरिका बराल प्रथम, लक्ष्मी आदर्श माध्यमिक विद्यालयकी सम्झना बेलवासे द्वितीय, एसओएसकै अनुजा गौतम तृतीय तथा रामज्योति माध्यमिक विद्यालयकी स्वेच्छा परियार सान्त्वना भइन्। उनीहरूलाई क्रमशः १० हजार, आठ हजार, पाँच हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपी कोइरालाले लोकतन्त्र, राष्ट्रियता र जनअधिकारका पक्षमा पुर्याएको योगदान स्मरणीय रहेको बताए। कांग्रेसकी केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बिपीका विचार र सिद्धान्तलाई व्यवहारमा उतार्दै अघि बढ्नुपर्ने बताए। स्थानीय धर्म अधिकारीले बिपीको राजनीतिक जीवनबारे प्रकाश पार्नुभयो भने साहित्यकार सञ्जीव पौडेलले उहाँको साहित्यिक योगदानबारे बताए।
यसैबीच, नेपाली कांग्रेस बागलुङले स्मृति दिवसका अवसरमा ‘हरित वातावरणका लागि जलवायु संवाद’ आयोजना गर्यो। कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तन विश्वव्यापी चुनौती बनेको बताए। यसको प्रभाव कृषि, जलस्रोत, ऊर्जा, पर्यटन र जैविक विविधतासहित विभिन्न क्षेत्रमा परेको उहाँले बताए।
प्रकाशित समय : ०६:२५ बजे


















