गृहपृष्ठ सूचना प्रविधि मेला मङ्सिर ५ र ६ गते हुने
सूचना प्रविधि मेला मङ्सिर ५ र ६ गते हुने
काठमाडौं। डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा उदीयमान प्रविधिबारे जानकारी र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिरमा सूचना प्रविधि मेला आयोजना हुने भएको छ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस (एनएएस) ले आयोजना गर्ने मेलाको नाम ‘एनएएस आइटी एक्स्पो’ राखिएको छ। मेला मङ्सिर ५ र ६ गते (नोभेम्बर २१–२२) काठमाडौंमा आयोजना हुने आयोजकले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलामार्फत प्रविधि कम्पनीलाई आफ्ना नवीन समाधान प्रस्तुत गर्ने, व्यवसायसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने तथा दीर्घकालीन सहकार्यको अवसर सिर्जना गर्ने उद्देश्य रहेको जनाएको छ। यसले नेपालको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास पनि आयोजकले व्यक्त गरेको छ।
आयोजकका अनुसार मेलामा सरकारी निकायका प्रतिनिधि, विभिन्न देशका राजदूत, लगानीकर्ता, निजी क्षेत्र, स्टार्टअप, विद्यार्थी तथा प्रविधिप्रेमीको सहभागिता रहनेछ।
मेलामा अग्रणी सूचना प्रविधि कम्पनी र नवप्रवर्तनशील स्टार्टअपका उत्पादन तथा सेवा प्रदर्शनी गरिनेछ। सूचना प्रविधि क्षेत्रका चुनौती समाधान गर्ने प्रविधि र समाधानसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
यस्तै, डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा उदीयमान प्रविधिसम्बन्धी ज्ञानमूलक सत्र सञ्चालन गरिनेछ। मेलाले स्थानीय सूचना प्रविधि समाधानको प्रवर्द्धन, नवप्रवर्तनमा सहयोग, व्यवसायिक सहकार्य विस्तार तथा नेपालको डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउने अपेक्षा आयोजकको छ।
प्रकाशित समय : ०६:१९ बजे


















