गृहपृष्ठ बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
विराटनगर ।कोशी प्रदेशमा बालविवाह नियन्त्रणका लागि विद्यालय केन्द्रित विशेष अभियान सञ्चालन गर्न लागिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालनको तयारी गरेको जनाएको छ ।
मन्त्रालयका सचिव उद्धव रिजालका अनुसार प्रदेशका एक हजार २०० भन्दा बढी विद्यालयमा उक्त अभियान सञ्चालन गरिनेछ । कार्यक्रमको कार्यान्वयन तथा सहजीकरणका लागि प्रदेशका १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखले अनुगमन गर्नेछन् ।
त्यस अभियानअन्तर्गत विद्यालयस्तरमै बालविवाहविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । प्रत्येक विद्यालयलाई कार्यक्रम सञ्चालनका लागि रु ४५ हजारका दरले बजेट उपलब्ध गराइने भएको छ ।
विद्यालय लक्षित कार्यक्रम सञ्चालनका लागि सङ्घीय सरकारले रु छ करोड सशर्त विशेष अनुदान उपलब्ध गराएको मन्त्रालयले जनाएको छ । प्रदेशमा पहिलोपटक यस खाले अभियान सञ्चालन हुन लागेको सचिव रिजालले जानकारी दिए ।
विद्यालय केन्द्रित कार्यक्रमले बालविवाह नियन्त्रणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्दै शिक्षा र सशक्तीकरणलाई अभियानको मुख्य आधार बनाइएको छ । यस कार्यक्रमले विद्यार्थीमा चेतना बढाउने मात्र नभई उनीहरूलाई सशक्त बनाउनेछ ।
हालसम्म कोशी प्रदेशका पाँच स्थानीय तहले मात्र बालमैत्री स्थानीय तह घोषणा गरेका छन् । झापाका कमल, भद्रपुर र कनकाई नगरपालिका, इलामको सूर्योदय नगरपालिका तथा सुनसरीको रामधुनी नगरपालिकाले बालमैत्री घोषणा गरेका हुन् । प्रदेशका बाँकी १३२ स्थानीय तहले भने अझै बालमैत्री घोषणा गर्न सकेका छैनन् ।
सामाजिक विकास मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालका अनुसार नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त बनाउने राष्ट्रिय लक्ष्यअनुरूप उक्त अभियान सञ्चालन गर्न लागिएको हो ।
यसअघि कोशी प्रदेश सरकारले सन् २०२५ भित्र प्रदेशलाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य लिएको भए पनि उक्त अभियान सफल हुन सकेको थिएन ।
प्रकाशित समय : १८:४५ बजे



















