गृहपृष्ठ मापसे गरेका चालकले हाँकेको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठजना घाइते
मापसे गरेका चालकले हाँकेको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठजना घाइते
सर्लाही । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको ट्रकले दुई वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक धनुषाको धनुषाधाम नगरपालिका – ९ निवासी करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का घाइते भएका छन् ।
यस्तै, इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ हरैताकी ४६ वर्षीया रितु वर्ण कार्की, सोही स्थानका ४४ वर्षीय मेघराज कार्की, सुनसरीको इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर तथा मोरङको सुन्दरहरैँचा– ५ हरैताकी ५४ वर्षीया दिलमाया कार्की घाइते छन् ।
प्रहरीका अनुसार अधिकांश घाइतेको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक उपचारका लागि चपुरस्थित सिमन्त हाईवे अस्पताल लगिएका सफल मगर भने उपचारकै क्रममा आफैं अस्पतालबाट हिँडेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १६:२२ बजे


















