गृहपृष्ठ बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
नेपालगञ्ज । किसानद्वारा उत्पादित विभिन्न जडीबुटीलाई प्रशोधन गरेर भण्डारण गर्न बाँकेमा अत्याधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा उक्त भण्डारण केन्द्र निर्माण सम्पन्न भएको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।
वन कार्यालयको १५ लाख अनुदानमा समूहमार्फत निर्माण गरिएको उक्त भण्डारण केन्द्रबाट मेन्था, क्यामोमाइल, लेमनग्रासलगायत जडीबुटीबाट उत्पादन हुने तेलको संरक्षण गरिने भन्दै यसले ती जडीबुडीबाट उत्पादित तेलको गुणस्तर प्रभावकारी हुने डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्कर प्रसाद गुप्ताले जानकारी दिए । “यसको मुख्य उद्देश्य भनेको बजार मूल घट्दा जडीबुटीबाट उत्पादित तेलको संरक्षण गरी आयआर्जन बढाउने हो”, उनले भने ।
वन अधिकृत गुप्ताले किसानले वर्षौँदेखि व्यावसायिक रूपमा विभिन्न जडीबुटी खेती गर्दै आएका उल्लेख गर्दै प्रशोधनपछि उत्पादन हुने सामग्री लामो समयसम्म सुरक्षित राख्न आवश्यक भएकाले भण्डारण केन्द्र निर्माण गरिएको बताए । उनले वातावरण अनुकूलित ‘प्रिफ्याब्रिकेटेड इन्सुलेटेड स्यान्डवीच प्यानल टेक्नोलोजी’ प्रयोग गरेर भण्डारण केन्द्र निर्माण असार मसान्तभित्र सम्पन्न गरिएको जानकारी दिँदै उनले यो प्रविधिबाट जडीबुटी प्रशोधनपछि उत्पादन हुने तेललाई उपयुक्त तापक्रममा सुरक्षित रूपमा भण्डारण गर्न सकिने बताए ।
वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार हाल किसानद्वारा उत्पादित तेल चर्को घाम, तापक्रमको उतारचढाव तथा चुहावट (सिपेज) का कारण गुणस्तरमा ह्रास आउने, रासायनिक तत्व घट्ने तथा तौल कम हुने समस्या झेल्नुपरेको बताउनुभयो । यसअघि किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले नयाँ भण्डारण केन्द्र सञ्चालनमा आएपछि यस्ता समस्या न्यूनीकरण हुने र किसानले प्रशोधित जडीबुटीजन्य उत्पादनको उचित मूल्य प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मानव वन्यजन्तु द्वन्द्वबाट प्रभावित क्षेत्रका किसानलाई वैकल्पिक आयआर्जनका रूपमा मेन्था, लेमनग्रास र क्यामोमाइल जस्ता जडीबुटी खेती गर्न प्रोत्साहन गर्दै आइएको वन अधिकृत सुवेदीले जानकारी दिनुभयो । वन्यजन्तुले कम क्षति पु¥याउने यस्ता बालीले किसानको आयवृद्धिमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
उत्पादन भएको तेलको प्रशोधन, सुरक्षित भण्डारण र प्रभावकारी बजारीकरणको अभावका कारण पछिल्ला वर्षमा धेरै किसान जडीबुटी खेतीबाट पलायन हुँदै गएकालले भण्डारण केन्द्रमार्फत किसानलाई आकर्षित गर्ने पहल थालिएको उहाँले बताउनुभयो ।
जटीबुटीबाट भएका तेल तथा अन्य औषधिको उचित व्यवस्थापन नहुँदा प्रतिफल प्राप्त गर्न नसकेको गुनासो गर्दै किसानले सरोकार भएका निकायलाई बजार व्यवस्थापनको माग राख्दै आएका छन् ।
(((
प्रकाशित समय : १७:१३ बजे



















