global ime bank Long Banner Ad

गृहपृष्ठ बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ । काग, गिद्ध, हाँसलगायत पन्क्षीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना गत ५ असारदेखि बन्द गरिएको थियो ।

संक्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा ९बर्डफ्लु० भाइरस नदेखिएकाले चिडियाखाना पुनःसञ्चालनमा ल्याइएको हो ।

चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनःखोल्ने निर्णय गरेको हो ।

चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १० देखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने अवलोकनकर्ताले बेलुका ५ बजेभित्र बाहिरिनु पर्नेछ ।

सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पन्छीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ । यसअघि संक्रमित देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र दूरी कायम गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी, आफूसँग ल्याएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि फोहर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु