global ime bank Long Banner Ad

गृहपृष्ठ बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै

बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै

बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै

बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ । संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उनले सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान ग्रहण गर्ने तयारी गरेको छ । सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको चार सातामै उहाँ प्रधानमन्त्री बन्न लागेको हो ।

छपन्न वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतको सातौँ प्रधानमन्त्री बन्नुहुनेछ । बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उहाँ नेतृत्वमा पुगेको हो ।

ग्रेटर म्यानचेस्टरका लगातार तीन कार्यकालका मेयर बर्नह्यामलाई ‘उत्तरका राजा’ भन्ने उपनामले पनि चिनिन्छ । लेबर नेतृत्वका लागि उहाँविरुद्ध कसैले चुनौती नदिएपछि निर्विरोध रूपमा नेता चयन भएको हो । यसअघि सन् २०१० र २०१५ मा क्रमशः एड मिलिब्यान्ड र जेरेमी कोर्बिनसँग पराजित भएपछि तेस्रो प्रयासमा पार्टी नेतृत्वमा पुग्न सफल भएको हो ।

सन् २००१ देखि २०१७ सम्म सांसद तथा पूर्वसरकारी मन्त्री रहेका बर्नह्यामले पछिल्ला वर्षहरूमा आफूलाई जनमुखी नेताका रूपमा स्थापित गरेको छ । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, सहज प्रस्तुति र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण उनले व्यापक लोकप्रियता हासिल गरेको मानिन्छ ।

लेबर सांसदहरूले बर्नह्यामले स्टारमरभन्दा प्रभावकारी रूपमा जनतासँग संवाद गर्न सक्ने, जर्जर सार्वजनिक सेवामा सुधार ल्याउन सक्ने तथा सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न थप साहसी नीति अघि बढाउने अपेक्षा गरेका छन् । बुधबार पूर्वफुटबलर ग्यारी लिनेकरसँगको पोडकास्टमा उनले देशलाई आशा र आत्मविश्वासको नयाँ अनुभूति दिलाउनुपर्ने आवश्यकता औँल्याउँदै बेलायत सही दिशातर्फ फर्किरहेको अनुभूति जनतामा दिलाउनुपर्ने बताएको थियो ।

सन् २०२९ मा अपेक्षित आमनिर्वाचनअघि आप्रवासनविरोधी नाइजेल फराज नेतृत्वको रिफर्म युके पार्टीको बढ्दो प्रभाव रोक्न पनि बर्नह्याम नै लेबरका लागि सबैभन्दा बलियो विकल्प भएको पार्टीभित्र विश्वास गरिएको छ ।

स्टारमरले जुलाई २०२४ मा १४ वर्षपछि लेबरलाई सत्तामा फर्काउन सफल भए पनि त्यसपछि घरेलु नीतिगत विवाद, वासिङ्टनका लागि पिटर म्यान्डल्सनलाई राजदूत नियुक्त गरेको निर्णय तथा स्थानीय निर्वाचनमा कमजोर प्रदर्शनले उहाँको नेतृत्व निरन्तर दबाबमा परेको थियो । मे महिनाको स्थानीय तथा क्षेत्रीय निर्वाचनको निराशाजनक परिणाम र त्यसपछि जुन १८ मा बर्नह्यामले संसदीय उपनिर्वाचन जितेपछि नेतृत्व परिवर्तनको माग तीव्र बनेको थियो । अधिकांश लेबर सांसदहरूले समर्थन फिर्ता लिएपछि स्टारमरले २२ जुनमा राजीनामा घोषणा गरेको थियो ।

सोही दिन संसद्मा शपथ लिएपछि बर्नह्यामलाई दर्जनौँ सांसदहरूले स्वागत गरेका थिए । यसलाई उनप्रति पार्टीको समर्थनको स्पष्ट सङ्केतका रूपमा हेरिएको थियो । उनले लेबरका ४०३ सांसदमध्ये ३७९ जनाको समर्थन प्राप्त गरेको छ भने नेतृत्वका लागि आवश्यक ८१ सांसदको समर्थन जुटाएर चुनौती दिने कोही अघि आएनन् ।

पार्टीको नरम वामपन्थी धारबाट आएका बर्नह्यामले सांसदहरूको विश्वासप्रति गहिरो आभार व्यक्त गर्दै वेस्टमिन्स्टरकेन्द्रित शासनको सट्टा अधिकार र स्रोतलाई बेलायतका अन्य सहर तथा क्षेत्रसम्म विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको बताएको छ । राजधानी बाहिरका क्षेत्रलाई विकासमा समान अवसर उपलब्ध गराउने र समग्र अर्थतन्त्रलाई सर्वसाधारणमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यद्यपि प्रधानमन्त्रीका रूपमा सुस्त अर्थतन्त्र, बढ्दो सरकारी ऋणको लागत, सार्वजनिक सेवा सुधार, साना डुङ्गामार्फत आउने अनियमित आप्रवासन तथा रिफर्म युकेको बढ्दो राजनीतिक प्रभावजस्ता चुनौती सामना गर्नुपर्नेछ । अमेरिका–इरान युद्धका कारण ऊर्जा बजारमा देखिएको अनिश्चितता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत उतारचढावले पनि उनको सरकारमाथि थप दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ ।

राजा चार्ल्स तृतीयसँग भेट गरी औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारीमा रहनुभएका बर्नह्यामले सन् २०२४ को चुनावी घोषणापत्रअनुसार मुख्य कर नबढाउने प्रतिबद्धता दोहोर्‍याएको छ । साथै रक्षा क्षेत्रमा चार वर्षभित्र आवश्यक चार दशमलव सात अर्ब पाउन्डको अतिरिक्त लगानीको स्रोत व्यवस्थापन गर्नुका साथै कल्याणकारी सुधारका जटिल विषयलाई पनि सन्तुलित रूपमा अघि बढाउनुपर्ने चुनौती उनसामु रहनेछ । रासस

प्रकाशित समय : १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु