गृहपृष्ठ हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ मा अमर वान्तु र हरि ढुंगेल दीर्घसाधना सम्मानबाट सम्मानित
हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ मा अमर वान्तु र हरि ढुंगेल दीर्घसाधना सम्मानबाट सम्मानित
काठमाडौं। नेपाली भाषा, साहित्य, संगीत, कला तथा सामाजिक सेवामा दीर्घकालीन योगदान पुर्याएका वरिष्ठ स्रष्टा अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ।
अवार्ड संयोजक गीता अधिकारीले गीत–संगीत, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा दुवैले पुर्याएको योगदानको कदरस्वरूप दीर्घसाधना सम्मान प्रदान गर्न लागिएको जानकारी दिइन्।
वान्तु र ढुंगेलले दशकौँदेखि नेपाली भाषा, साहित्य, गीत–संगीत तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको र उहाँहरूको निरन्तर सिर्जना तथा सामाजिक उत्तरदायित्वको सम्मानस्वरूप यो निर्णय गरिएको अधिकारीले बताइन्।
अधिकारीका अनुसार हरि ढुंगेल लामो समयदेखि नेपाली साहित्य, अभिनय र सामाजिक सेवामा सक्रिय छन्। सरकारी सेवाबाट अवकाशपछि पनि उनले साहित्य सिर्जना, सांस्कृतिक गतिविधि र सामाजिक सेवालाई निरन्तरता दिएका छन्। उनका हिमशिखा, मेरो जिन्दगी, अमृत वर्षा, यात्रा अमेरिकाको र हिमालदेखि सागरसम्म सहित कविता, कथा, गीत र नियात्रासम्बन्धी सात कृति प्रकाशित भएका छन्। उनी नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रहेको अधिकारीले जानकारी दिइन्।
ढुंगेलले अभिनय क्षेत्रमा पनि विभिन्न नाटक, चलचित्र तथा वृत्तचित्रमा अभिनय गरेको तथा गीतकारका रूपमा पनि उल्लेखनीय योगदान दिएको अधिकारीले बताइन्। उनका शब्दमा सिर्जना भएका ‘मन्दिरमा दीप जल्यो सम्झेँ तिमीलाई’, ‘आज म धेरै खुलेछु’, ‘टुटेको विश्वास जोडिन्न भन्थे’, ‘गीत गुञ्जियो बैंश छरियो’, ‘लाग्यो लौ लाग्यो’, ‘एकदिनको भेटमा माया बस्यो’ लगायतका गीत लोकप्रिय रहेको उनले उल्लेख गरिन्।
त्यसैगरी अमर वान्तु नेपाली गीत–साहित्यका स्थापित स्रष्टा रहेको अधिकारीले बताइन्। उनका अनुसार वान्तुले वि.सं. २०४५ देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय हुँदै १५० भन्दा बढी गीत सिर्जना गरेका छन्। जीवन, प्रेम, समाज र दर्शनलाई सरल तर गहिरो भावमा प्रस्तुत गर्ने उनको लेखन शैली नेपाली गीत–साहित्यमा विशिष्ट रहेको अधिकारीले बताइन्।
वान्तुका परिभाषाका राँटाहरू (केही गीत, केही कविता), अमर भावना र अमर भावना–२ प्रकाशित भएका छन्। ‘गर्मी भयो धरान’, ‘जीवन मृत्यु’, ‘काठै भाकाले’, ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’, ‘तिम्रो शहर’ लगायतका गीत श्रोतामाझ लोकप्रिय रहेको अधिकारीले उल्लेख गरिन्। उनले गीतकार संघको अक्षयकोष तथा आदर्श कन्या निकेतनमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना गरी सामाजिक क्षेत्रमा समेत योगदान दिएको अधिकारीले बताइन्।
अमर वान्तु र हरि ढुंगेललाई प्रदान गरिने सम्मानले नेपाली भाषा, साहित्य, संगीत र संस्कृतिप्रतिको दीर्घकालीन सेवाको सम्मान गर्ने आयोजकले जनाएको छ। उहाँहरूको सिर्जनात्मक यात्राले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास पनि आयोजकले व्यक्त गरेको छ।
यसअघि दीर्घसाधना सम्मान संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका तथा सङ्कलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको आयोजकले जनाएको छ।
अवार्डका अध्यक्ष गणेश सुवेदीले समारोहमा नेपाली गीत–संगीतका स्रष्टालाई विशेष सम्मान गरिनुका साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई पनि सम्मान गरिने जानकारी दिए। साथै, बालप्रतिभालाई ‘राइजिङ स्टार अवार्ड’ प्रदान गरिने उनले बताए।
‘भाषा, साहित्य, कला–संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजना हुने हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ को छैटौँ संस्करण साउन ३ गते (१९ जुलाई) भारतको सिक्किमस्थित राभङलामा आयोजना गरिने आयोजकले जनाएको छ। यसअघि अवार्डको पाँचौँ संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो।
प्रकाशित समय : १८:५२ बजे



















