गृहपृष्ठ वाइवाइ लाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का
वाइवाइ लाई पिरो चाउचाउको पिरः उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का
काठमाडौं । दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’ लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् ।
उपभोक्ताहरुको रुचि विशेषगरी पिरो र नयाँ स्वादतर्फ मोडिएसँगै चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडको सञ्चालन आम्दानीमा संकुचन देखिएको हो । रेटिङ एजेन्सी इक्रा नेपालको हालैको रेटिङ प्रतिवेदनअनुसार, नयाँ स्वदेशी तथा विदेशी ब्रान्डहरूले पिरो स्वादका चाउचाउमार्फत आक्रामक बजार विस्तार गर्दा त्यसको प्रत्यक्ष असर सीजी फुड्सको व्यापारमा परेको हो ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको समेकित सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशतले घटेर ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँमा झरेको छ । इक्रा नेपालले उपभोक्ताको प्राथमिकतामा आएको परिवर्तन र विशेषगरी पिरो चाउचाउको बढ्दो क्रेजले नयाँ प्रतिस्पर्धीहरूलाई बजारमा चाँडो स्थापित हुन सहयोग पु¥याएको उल्लेख गरेको छ ।
यसले गर्दा लामो समयदेखि बजारको नेतृत्व गरिरहेको वाइवाइको बजार हिस्सा र नाफा कमाउने क्षमतामा दबाब सिर्जना भएको छ । पिरो चाउचाउको बढ्दो प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यमा भएको उतारचढावका कारण कम्पनीको सञ्चालन नाफा मार्जिनमा समेत भारी गिरावट देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा १२.१ प्रतिशत रहेको समेकित सञ्चालन नाफा मार्जिन गत आर्थिक वर्षमा घटेर ६.६ प्रतिशतमा सीमित भएको छ । यद्यपि, कम्पनीको कुल आम्दानीमा अझै पनि चाउचाउकै हिस्सा ७४ प्रतिशतभन्दा बढी रहेकाले बदलिँदो बजार मागअनुसार प्रतिस्पर्धा गर्नु कम्पनीका लागि मुख्य चुनौती बनेको छ । कम्पनीले हालैका दिनमा आफ्ना उत्पादनमा विविधीकरण गर्ने र नयाँ स्वादहरू भित्र्याउने प्रयास गरे पनि नयाँ ब्रान्डहरूको तीव्र विस्तारले बजारमा ’प्राइस वार’ र ’ब्रान्ड वार’ दुवै बढाएको छ ।
कम्पनीले चुनौतीलाई चिर्नका लागि निर्यात बिक्री बढाउने र स्न्याक्स तथा पेय पदार्थ जस्ता अन्य क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति लिएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको नाफा मार्जिनमा केही सुधार देखिए पनि इक्रा नेपालले पिरो चाउचाउका कारण उत्पन्न प्रतिस्पर्धालाई दीर्घकालीन रूपमा निगरानी गर्नुपर्ने जोखिमका रूपमा औँल्याएको छ । बजारमा उपभोक्ताको स्वाद फेरिएसँगै वाइवाइले आफ्नो विरासत जोगाउन अब नयाँ प्रतिस्पर्धी ब्रान्डहरूसँग कडा संघर्ष गर्नुपर्ने देखिएको छ ।
प्रकाशित समय : १४:३६ बजे



















