global ime bank Long Banner Ad

गृहपृष्ठ घरदैलोमै सरकारको अनुभूति दिलाउँदै खजुरा

घरदैलोमै सरकारको अनुभूति दिलाउँदै खजुरा

घरदैलोमै सरकारको अनुभूति दिलाउँदै खजुरा

राँझा। खजुरा गाउँपालिका–५ उढरापुर निवासी ७५ वर्षीया दिलकुमारी रेग्मीका लागि सामान्य स्वास्थ्य परीक्षण गराउन पनि अस्पतालसम्म पुग्नु सहज थिएन । उमेरसँगै कमजोर हुँदै गएको शारीरिक अवस्थाका कारण उनलाई घर बाहिर निस्कनै कठिन थियो । तर, जब स्वास्थ्यकर्मीको टोली घरमै पुगेर स्वास्थ्य परीक्षण ग¥यो, उनले सरकार आफ्नै आँगनमा आएको अनुभूति गरे ।

खजुरा– ६ निवासी ७८ वर्षीय सन्तबहादुर सुनारले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिन्छन् भन्ने कल्पनासमेत गर्ेको थिएन । ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ अन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर मधुमेह र रक्तचाप परीक्षण गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराए पछि उनि हर्षित भए ।
“घरमै आएर स्वास्थ्य जाँच गरी औषधि दिँदा हाम्रो लागि पनि सरकार रहेछ भन्ने लागेको छ”, उनले भने, “स्वास्थ्य उपचारसँगै आत्मविश्वास पनि बढेको छ । जनताको सरकार भएको महसुस भएको छ ।”

गाउँपालिकाले ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ मार्फत हालसम्म दुई हजार ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सेवा प्रदान गरिसकेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताए ।

उनका अनुसार, यस कार्यक्रमअन्तर्गत ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको घरमै पुगेर महिनामा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

यसका लागि पालिकाले चार जना स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले प्रत्येक दुई–दुई वटा वडा हेर्दैआएको छ ।

स्वास्थ्यकर्मीले नियमित रूपमा रक्तचाप, मधुमेह परीक्षण, आँखाको जाँच, कान परीक्षण गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेका छन् । घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिकले घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

गाउँपालिकाले ‘सुत्केरी तथा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ समेत सञ्चालन गरी विपन्न तथा आर्थिक रूपमा कमजोर गर्भवती महिलाहरूलाई क्याल्सियम वितरण, पोषण सहयोग तथा नियमित स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।

पालिकाभित्रका आठ वटै स्वास्थ्य संस्थाबाट क्षयरोग उपचार सेवा उपलब्ध गराइएको छ भने छ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालनमा ल्याइएको छ । हाल यो सेवा थप विस्तार गरी अन्य वडामा पनि सुरु गरिएको छ ।

गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा, सुत्केरी महिलालाई पोषिलो आहार वितरण तथा निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएको छ । सुत्केरी महिलाको घरमै दुई पटकसम्म स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएपछि एक हजारभन्दा बढीले लाभ लिएको छन ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाका कुनै पनि ज्येष्ठ नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भनी नागरिकको घरदैलोमै पुग्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए ।

 

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु