गृहपृष्ठ बलुचिस्तानमा आक्रमण, नौ प्रहरीको मृत्यु
बलुचिस्तानमा आक्रमण, नौ प्रहरीको मृत्यु
पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य केही प्रहरी अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् ।
जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गर्दा नौ जना प्रहरी अधिकारी मारिएका हुन् । घटनापछि केही प्रहरीको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी राखिएको उनले बताए ।
बलुचिस्तान प्रदेश सरकारका प्रवक्ता शाहिद रिन्दले पनि घटनामा नौ प्रहरीको मृत्यु भएको पुष्टि गर्दै मृतकमध्ये विभिन्न प्रहरी चौकीका वरिष्ठ अधिकारीसमेत रहेको जानकारी दिए। उनले प्रारम्भिक रूपमा आक्रमणमा इस्लामवादी उग्रवादी समूहको संलग्नता रहेको आशङ्का गरिएको बताए ।
उनका अनुसार घटनालगत्तै अर्धसैनिक बल, प्रहरी र आतङ्कवादविरुद्ध परिचालित सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा सुरक्षा अभियान सञ्चालन गरेका छन् । आक्रमणकारीहरूको खोजी जारी रहेको जनाइएको छ ।
खनिज सम्पदाले समृद्ध बलुचिस्तान प्रान्तमा पाकिस्तान सरकार वर्षौंदेखि पृथकतावादी विद्रोह तथा सशस्त्र समूहको गतिविधिसँग जुध्दै आएको छ । अफगानिस्तान र इरानसँग सीमा जोडिएको यस क्षेत्रमा सुरक्षा निकाय, सरकारी संरचना तथा विदेशी लगानीमा सञ्चालित पूर्वाधार परियोजनामाथि पटक–पटक आक्रमण हुने गरेका छन् ।
पाकिस्तानले सीमावर्ती क्षेत्रमा बढेका उग्रवादी गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित समूहहरूलाई जिम्मेवार ठहर गर्दै आएको छ । तर अफगान अधिकारीहरूले त्यस्ता आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् ।
हालैका महिनाहरूमा पाकिस्तानले अफगान सीमावर्ती क्षेत्रमा हवाई आक्रमणसमेत गरेको छ । पाकिस्तानले ती कारबाही उग्रवादीलाई लक्षित भएको जनाएको भए पनि तालिबान प्रशासन र संयुक्त राष्ट्रसङ्घले ती आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको दाबी गर्दै आएका छन् ।
रासस
प्रकाशित समय : १३:२७ बजे



















