global ime bank Long Banner Ad

गृहपृष्ठ एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको ‘तीनदिने फोटो पत्रकारिता’ आज तालिम सम्पन्न भएको छ ।

यही असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुची भएका ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

तालिमको उद्देश्य फोटो पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार तस्बिरको गुणस्तर सुधार गर्नु, क्याप्सन लेखन, फोटो सम्पादन तथा दृश्य कथन (भिजुअल स्टोरीटेलिङ)सम्बन्धी ज्ञान र सीप विकास गर्नुका साथै फोटो पत्रकारिताको नैतिकता, उत्तरदायित्व तथा आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ ।

तीनदिने तालिममा फोटो पत्रकारिताको परिचय र विकास, समाचार मूल्य तथा फोटो छनोट, फोटो क्याप्सन लेखन, दृश्य कथन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन, क्यामरा सेटिङ, ब्रेकिङ न्यूज कभरेज, फोटो पत्रकारिताको आचारसंहिता तथा नैतिकता, स्थलगत अभ्यास, फोटो समीक्षालगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा वरिष्ठ फोटो पत्रकार तथा प्रशिक्षक सुनील सी बज्राचार्य, एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले सहजीकरण गरेका थिय ।

आज यहाँ आयोजित समापन कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवं वरिष्ठ फोटो पत्रकार मिनरत्न बज्राचार्यले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे । उनले यस्ता सीपमूलक तालिमले फोटो पत्रकारहरूको व्यावसायिक दक्षता, सिर्जनशीलता तथा जिम्मेवारीबोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

तालिमका सहभागीहरूले सैद्धान्तिक कक्षासँगै व्यावहारिक अभ्यास, समूह छलफल तथा स्थलगत फोटोग्राफीमा सक्रिय सहभागिता जनाएका छन् । अन्तिम दिन सहभागीले खिचेका तस्बिरहरूको समीक्षा तथा मूल्याङ्कनसमेत गरिएको थियो ।

एनएफपिजेका अध्यक्ष वन्तले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले नेपाली फोटो पत्रकारिताको गुणस्तर थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तर सञ्चालन गरिने बताए ।

कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर’ का अनुसार तालिमले सहभागीको ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन फोटोग्राफी, भिडियोग्राफी तथा एडभान्स फोटोग्राफीसम्बन्धी तालिम उल्लेख्य सहभागितासहित सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षकहरू, अतिथिहरू, सहभागीहरू तथा प्रत्यक्ष(अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति एनएफपिजेले आभार व्यक्त गरेको छ ।(

 

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु