गृहपृष्ठ किसानलाई अनुदानमा कृषि सामग्री
किसानलाई अनुदानमा कृषि सामग्री
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कृषि तथा पशुपालनमा आबद्ध किसानलाई व्यावसायिक कृषि प्रवद्र्धन र श्रम लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण सुरु गरेको छ ।
गाउँपालिकाले पशुपालक किसानलाई कुट्टी काट्ने मेसिन (च्यापकटर) तथा तरकारी र अन्य खेती गर्ने किसानलाई मिनी हाते ट्याक्टर वितरण गर्न थालेको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिए।
उहाँका अनुसार सार्वजनिक सूचना जारी गरी प्राप्त आवेदनमध्ये तोकिएको मापदण्ड, वडाको सिफारिस तथा पाँच सदस्यीय छनोट समितिको सिफारिसका आधारमा स्थानीय किसान छनोट गरी सामग्री वितरण गरिएको हो ।
पहिलो चरणमा गाउँपालिकाका आठवटै वडाबाट तीन–तीन जना गरी २४ जना पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको अध्यक्ष अजादले बताए। उक्त कार्यक्रम कृषि शाखाको बजेटबाट सञ्चालन गरिएको उनले जानकारी दिए ।
त्यसैगरी, साना किसानलाई लक्षित गरी तरकारी तथा अन्य खेतीका लागि ११ थान मिनी हाते ट्याक्टर पनि ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरिएको उनले बताए।
अध्यक्ष अजादका अनुसार प्रदेश र सङ्घीय सरकारबाट प्राप्त बजेट तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट विनियोजित रकम कृषिक्षेत्रमै सदुपयोग गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो ।
यसअघि गाउँपालिकाले विभिन्न सहकारीमार्फत ६०० किसानलाई विषादी छर्कने स्प्रेयर मेसिन र ८०० किसानलाई ५० प्रतिशत अनुदानमा कोदालो वितरण गरिसकेको उनले जानकारी दिए ।
स्थानीय किसानको माग र आवश्यकताअनुसार ३५० किसानलाई पानी तान्ने मोटर तथा बोरिङका लागि आवश्यक प्लास्टिक पाइप वितरण गर्ने तयारीसमेत गरिएको उहाँले बताए ।
मोटर वितरणमा ५० देखि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने विषयमा गाउँ कार्यपालिकाले निर्णय गर्ने र सोही निर्णयका आधारमा वडा कार्यालयको सिफारिसअनुसार किसानलाई सामग्री वितरण गरिने अध्यक्ष अजादले जानकारी दिए ।
प्रकाशित समय : १६:२८ बजे



















