गृहपृष्ठ सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ । सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु भाइरस नियन्त्रणका लागि निरन्तर औषधि छर्किने, जीवजन्तु राखिएका स्थानको सरसफाइ गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । उहाँले पछिल्लो परीक्षणका आधारमा असार १२ गतेयता चिडियाखानाभित्र बर्डफ्लुको नयाँ सङ्क्रमण नदेखिएको जानकारी दिए ।
सङ्क्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्डफ्लु नियन्त्रण अध्ययन समितिसमेत गठन गरिएको छ । उक्त समितिले केही दिनभित्र विस्तृत प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा विज्ञहरूको सुझाव लिएपछि हाल बन्द रहेको चिडियाखाना कहिलेदेखि सर्वसाधारणका लागि पुनः सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गरिने सूचना अधिकारी कोइरालाले बताए ।
पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्डफ्लुको जोखिम अझै कायम रहेको जनाएको छ । विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा बर्डफ्लु तीव्र रूपमा फैलिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ ।
चिडियाखाना प्रशासनले जीवजन्तुको सुरक्षा र सर्वसाधारणको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आवश्यक सबै सावधानी अपनाइरहेको जनाएको छ । हाल चिडियाखाना बन्द रहे पनि सङ्क्रमण नियन्त्रणको अवस्था सकारात्मक देखिएकाले विज्ञहरूको प्रतिवेदनपछि पुनः सञ्चालनबारे अन्तिम निर्णय गरिने बताइएको छ ।
प्रकाशित समय : १९:४९ बजे



















