global ime bank Long Banner Ad

गृहपृष्ठ गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी । जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान रोपाइँमा समस्या परेको छ । जिल्लामा यस वर्ष हालसम्म ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाकाम न्यौपानेका अनुसार आइतबारसम्म ७१९।५१ हेक्टरअर्थात् ११ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यस वर्ष धानखेती हुने अनुमान गरिएको ६ हजार ५४१ हेक्टर क्षेत्रफलमध्ये राष्ट्रिय धान दिवस मनाइदै गर्दा जिल्लाका अधिकांश खेत अझै बाँझै छन् ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले पर्याप्त वर्षा नहुँदा पानीको अभावले यस वर्ष धान रोपाइँ प्रभावित भएको बताए। उनका अनुसार, जिल्लाका अधिकांश ठूला फाँटहरुमा पानीको अभावका कारण रोपाइँ हुन सकेको छैन । वर्षा भएपछि मात्र रोपाइँले गति लिनेछ ।

इस्मा गाउँपालिका–६ चौरासी फाँटका अगुवा कृषक कृष्ण घिमिरेका अनुसार गत वर्ष असार १५ सम्म जिल्लाको सबैभन्दा ठूलो फाँट चौरासी फाँटमा ८० प्रतिशत धान रोपाइँ भएको थियो ।

यस वर्ष भने उक्त फाँटमा आईतबारसम्म करिब १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । समयमै वर्षा नहुनु, सिँचाइको अभाव र रासायनिक मल सहज रूपमा उपलब्ध नहुनुले किसान समस्यामा परेको कृषक घिमिरेले बताए ।

धुर्कोट गाउँपालिका–६ सिस्तुङका किसान मेघनाथ अर्यालले पनि पर्याप्त पानीको अभावका कारण समयमा धान रोप्न नसकिएको बताए। यस वर्ष रोपाइँका लागि पानी नभएको कारण केही ढीला हुने उनले बताए।

गुल्मीका अधिकांश धान उत्पादन हुने क्षेत्र अझै पनि आकाशे पानीमा निर्भर छन् । समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो भएको र यसले यस वर्षको धान उत्पादनमा समेत असर पार्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा लगायतका फाँट राम्रो धान उत्पादन हुने क्षेत्रकारुपमा परिचय छ ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु