global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले नयाँ पुल निर्माण भएपछि काठको फल्याक राखिएको, हल्लिने पुलमा जोखिम मोलेर अन्नपूर्ण खोला वारपार गर्नुपर्ने समस्या अन्त्य भएको बताए ।

“यसअघि एक पटकमा एकदेखि दुई जना मात्र पालो गरेर खोला तर्नुपर्ने समस्या थियो”, उपाध्यक्ष पुनले भन्े “झोलुङ्गे पुल बनेपछि पदयात्री, पर्यटक र स्थानीयवासीलाई आलोपालो गरेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।”

पर्यटकबाहेक नारच्याङका ५४९ परिवार पुल बनेपछि प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक हजार २२१ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको उनले जानकारी दिए ।

सङ्घीय सरकारले १३ लाख ८२ हजार ७९५ ससर्त अनुदान र एक लाख ८९ हजार ६९३ बराबरको निर्माण सामग्रीसहित अन्नपूर्ण गाउँपालिकाले १३ लाख ७४ हजार ४०० अनुदान र उपभोक्ताले ७३ लाख ८८० बराबरको श्रमदान गरेका अन्नपूर्ण गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक र सामाजिक परिचालन सहयोगमा पुल निर्माण भएको हो । पदमार्गका अन्य ठाउँमा पनि झोलुङ्गे पुल बनाउन सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिएको गाउँपालिकाका उपाध्यक्ष पुनले बताए । नारच्याङबाट दुई घण्टा सवारीमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट अन्नपूर्ण आधार शिविरको पदयात्रा सुरु हुन्छ ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दूर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविर मुनि समुन्द्री सतहबाट चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल पर्दछ ।

आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

 

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु