global ime bank Long Banner Ad

गृहपृष्ठ मुन्दुम ट्रेलको प्रवर्द्धन गर्न साकेला सिली प्रदर्शन

मुन्दुम ट्रेलको प्रवर्द्धन गर्न साकेला सिली प्रदर्शन

मुन्दुम ट्रेलको प्रवर्द्धन गर्न साकेला सिली प्रदर्शन

खोटाङ । साकेला गाउँपालिका ३ खिदिमास्थित मुन्दुम ट्रेल पदमार्गको प्रवेशद्वार तावाभञ्ज्याङमा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । मौलिक संस्कृतिको संरक्षण एवं मुन्दुम पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले साकेला सिली प्रदर्शन गरिएको हो ।

तावाभञ्ज्याङलाई मन्दुम ट्रेलको प्रवेशद्वार मानिन्छ । किरात समुदायको महान चाड उभौँलीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १५ टोलीले परम्परागत वेशभूषामा सजिएर ढोलझ्याम्टासहित मौलिक साकेला सिली प्रस्तुत गरेका थिए ।

वडा कार्यालय खिदिमाले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शन कार्यक्रममा किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समिति मोरङले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै, किरात राई यायोक्खा साकेला(२ रतन्छाको पिनालाखा द्वितीय, किरात राई यायोक्खा दोर्पा तृतीय र पारुहँ सेवा समाज रतन्छा साल्मेले सान्त्वना स्थान प्राप्त गरेको वडाध्यक्ष गाविन्द तामाङले जानकारी दिए ।

सिली प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले क्रमशः नगद रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु दश हजारको साथमा कठुवा र प्रमाणपत्र प्राप्त गरेका छन् । पर्यटन विकास परियोजना विराटनगरको समन्वय, साकेला गाउँपालिकाको प्रायोजन तथा साकेला शिली प्रतियोगिता उपसमिति खिदिमाको व्यवस्थापनमा वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

यसैबीच, साकेला गाउँपालिका र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले हरेक वर्षको मङ्सिर २२ गते ‘मुन्दुम पदमार्ग स्थापना दिवस’ मनाउने निर्णय गरेको छ । विसं २०७७ मङ्सिर २२ गते तावाभञ्ज्याङबाट मुन्दुम पदमार्ग निर्माण अभियान सुरु गरिएको दिनको सम्झना गर्दै हरेक वर्षको मङ्सिर २२ गतेको दिनलाई संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग स्थापना दिवस’को रुपमा मनाउने निर्णय गरिएको साकेला गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिए ।

मुन्दुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्दछ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि मुन्दुम ट्रेल रोजाइमा पर्ने गरेको छ । मुन्दुम ट्रेल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि भेँडा, चौँरी र घोडाका बथान थप आकर्षणको केन्द्र बन्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।

खोटाङ र भोजपुरको सीमामा पर्ने मुन्दुम ट्रेल तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण गरिएको मुन्दुम ट्रेल पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्दछ ।

वसन्त ऋतुमा हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि ढकमक्क फुलेका गुराँस अवलोकन गर्दै यात्रा गर्दा थकानको महसुससमेत नहुने मैयुङ(टेम्क(साल्पा(सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए ।

“मुन्दुम ट्रेलको स्तरोन्नति गर्दासमेत प्राकृतिक संरचनालाई संरक्षण गरेर मात्रै गरिएको छ”, उनले भने “यहाँका हरेक भूभाग किरात संस्कार तथा संस्कृतिसँग जोडिएको छ । त्यसैले देशविदेशमा रहेका मुन्दुम अध्ययन गर्नेहरू यहाँ अध्ययन गर्न आउने गरेका छन् ।”

ठूलाठूला घाँसे मैदान, फराकिला चौँरीखर्क तथा भेडीगोठका साथै घोडचढीअर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले यो पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।

मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, थार, भीर मौरी तथा विभिन्न प्रजातिका जङ्गली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । डेढ दर्जन बढी प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

मानवबस्ती कम पाइने मुन्दुम ट्रेलमा पर्यटकको चहलपहल बढेसँगै पर्यटकका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागत रूपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठस्टे (गोठबास) को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु