काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

1.3K
shares

काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ ।

गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र (डिबिएम–पिच)को काम गरिए पनि ‘बिटुमिन’ अभावका कारण काम बन्द रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

धुलिखेल चोकबाट दुई दशमलव पाँच किलोमिटर सडक दुवैतर्फी पहिलो चरणमा पक्की बनाइएको उक्त सडकमा वैशाखदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको थियो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बिटुमिन अभावका कारण बाँकी पक्की बनाउने काम तथा पहिलो चरणमा डिबिएम–कालोपत्रे गरिए पनि अस्फाल थप्ने कार्य रोकिएको छ ।

उहाँका अनुसार स्तरोन्नति भइरहेको चार किमीमध्ये बाँकी दूरी (दुवैतर्फीसम्मको) पक्की गर्ने कार्य वैशाख पहिलो सातादेखि थालिने योजना भए पनि कच्चा पदार्थ अभावका कारण दुई महिनादेखि काम रोकिएको हो ।

हाल यात्रालाई सहज बनाउन बाँकी सडकमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

उक्त खण्डको बाँकी एक दशमलव पाँच किलोमिटर बिटुमिन आयात भएपछि दोस्रो चरणमा पक्की गरिने योजना छ ।

ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र (डिबिएम र अस्फाल्ट) गर्ने काम हुने जनाइएको छ ।

लामो समय निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरी काम पुनः सुरु गरिएको हो ।

कार्यालयका अनुसार आगामी पुस महिनामा काम सम्पन्न गर्ने गरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

यसअघि समयमै काम सम्पन्न नभएको भन्दै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।

उक्त कम्पनीले २२ महिनाको समयसीमा पाएकोमा करिब २५ प्रतिशत मात्र काम गरेको अवस्थामा २०८१ फागुन १५ गते ठेक्का रद्द गरिएको हो ।

यो सडक अरनिको राजमार्ग हुँदै नेपाल–चीन नाका तातोपानी, साथै सिन्धुपाल्चोक, दोलखा र रामेछापतर्फ जाने प्रमुख मार्ग हो।