global ime bank Long Banner Ad

गृहपृष्ठ महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी

महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी

महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी

बागमती । बागमती प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौँडा नगरपालिकाको मध्यभागमा अवस्थित भुटनदेवी मन्दिरलाई महाभारतकालीन इतिहाससँग जोडेर हेरिन्छ ।

उपमहानगरपालिकाको १० नं वडामा रहेको यो मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्येमा एक मानिएको छ ।सामान्यतः हरेक दिन दर्शनार्थीको आगमन भइरहने उक्त मन्दिरमा बडादसैँलगायत महत्वपूर्ण चाडपर्व र तिथिमितिमा विशेष भीड लाग्ने गरेको मन्दिरका पुजारी बुद्धिमान राईले जानकारी दिए ।

श्रद्धा भक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण टाढाबाट दर्शनार्थी आउने गरेको उनले बताए ।

मन्दिरमा विजय दशमी तथा चैते दसैँमा विशेष पूजा हुने र त्यस समयमा ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको पाइन्छ । उक्त समयमा मन्दिरमा भक्तजनको अत्यधिक भीड हुने पुजारी रानाले बताए ।

मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले पूजाअर्चना तथा विभिन्न कामनासहित भाकल पूजा गर्न आउने गरेका छन् ।

मन्दिरभित्र अष्टभुजा युक्त देवीको आकर्षक मूर्ति रहेको छ । मन्दिरभित्र देवीसँगै सिंह र दैत्यवधको प्रतीकात्मक मूर्तिले शक्ति र असत्यमाथि सत्यको विजयलाई देखाएको पाइन्छ ।

भुटनदेवीको स्थापना सेनबंशी राजाबाट भएको मानिएको छ । देवीको पूजा दर्शन नगरी सिकार वा विजय प्राप्त गर्न गएमा उपलब्धि हासिल नहुने विश्वासका कारण तत्कालीन समयदेखि नै शासकले देवीको श्रद्धाभक्तिपूर्वक पूजा गरेर मात्रै आफ्नो कार्य थालनी गर्ने गरेको किंवदन्ती छ ।

मन्दिर संरक्षण समितिका उपाध्यक्ष उत्तम शर्मा ढकालका अनुसार भुटनदेवी हेडम्बासुरकीे बहिनी हेडम्बी थिइन् ।

किंवदन्तीअनुुसार पाँच पाण्डव वनबास आउने क्रममा हेटौँडाको जङ्गलमा हेडम्बीसँग भेट भई मायाप्रेम बसी पाण्डवमध्येका भीमसेनको विवाह भएको थियो । उनीहरूबाट कुरुक्षेत्र युद्धका नायक घटोच्कको जन्म भएको थियो । पछि हेडम्बीलाई दैवी शक्ति प्राप्त भएको र त्यसपछि उनी भुटनदेवीका रुपमा रहेको भनाइ छ । भुटनदेवीलाई दुर्गाको स्वरूप मानिन्छ । उनलाई महिषासुर मर्दिनीका रुपमा पूजाआजा गर्ने गरिएको छ ।

महाभारतकालीन इतिहाससँग जोडिएको भुटनदेवी मन्दिर हेटौँडाको मात्र नभएर नेपालकै प्रसिद्ध शक्तिपीठका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको छ । मन्दिरमा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न प्रयास भइरहेको उपाध्यक्ष ढकालले जानकारी दिए ।

मन्दिरको ऐतिहासिकतासँगै धार्मिक महत्वलाई पर्यटनसँगसमेत जोड्न खोजिएको छ । मन्दिरमा आउने तीर्थयात्रीका साथै साधुसन्तका लागि धर्मशाला सञ्चालन गरिएको बताए ।

एक दिनमा करिब करिब ४० जनासम्म राख्न सकिने धर्मशालामा सरसफाई लगायतको प्रयोजनका लागि न्यूनतम शुल्क निर्धारण गरिएको उपाध्यक्ष ढकालले जानकारी दिए ।

“मन्दिरमा आउने विशिष्ट धर्मगुरुलाई अन्यलाई न्यूनतम शुल्कमा धर्मशालामा बस्नसक्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुुभयो, “धर्मशालामा सामान्य कोठादेखि सुविधासम्पन्न वातानुकूलित ९एसीसहितका० कोठासमेत रहेका छन् ।” मन्दिरमा पुस्तौँदेखि यहाँका दनुवार समुदायका व्यक्तिले नियमिति पूजाआजा गर्दै आएका छन् ।

पुजारीका लागि अन्य कुनै सेवासुविधा वा तलब नभएको र मन्दिरमा पूजाका क्रममा चढाइने दान तथा सहयोग उनीहरूकै हुने व्यवस्था गरिएको छ । मन्दिरको दीगो व्यवस्थापनका लागि अक्षयकोष स्थापनाको सुरुआत गरिएको छ ।

हेटौँडाको बसपार्कबाट सडकमार्ग हुँदै करिब १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने यस मन्दिरमा श्रद्धाभक्ति पूर्र्वका पूजाआजा गरेमा गम्भीर कठिनाइ, समस्या र डरमाथि विजय प्राप्त हुने विश्वासले पनि यहाँको धार्मिक महत्व अझै चुलिएको स्थानीयवासी सविता राईले जानकारी दिए।

प्राचीन नेपाली कला र संस्कृतिको जीवन्त चित्रण अवलोकन गर्न पाइने मन्दिर परिसर आफैँमा मनमोहक रहेका कारण यहाँ आउने जो–कोही रमाउने गरेका छन् ।

मन्दिरको ऐतिहासिकता समेतलाई दृष्टिगत गरी यसको संरक्षणमा वडा कार्यालयका तर्फबाट निरन्तर सहयोग गरिराखिएको हेटौँडा नगरपालिका वडा नं १० का वडा अध्यक्ष फूर्वा दोर्जे तामाङले जानकारी दिए । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको उक्त मन्दिरलाई स्थानीय तह र स्थानीयवासीको पहलमा महत्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्न खोजिएको छ ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु