global ime bank Long Banner Ad

गृहपृष्ठ बालश्रम अन्त्यका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड

बालश्रम अन्त्यका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड

बालश्रम अन्त्यका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड

काठमाडौँ । बालश्रम अन्त्यका लागि तीनै तहका सरकारसहित सरोकार भएका निकायका प्रतिनिधिहरूबीच अझ बढी समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ ।

बालश्रमविरुद्धको विश्वदिवसका सन्दर्भमा राष्ट्रिय बालसंरक्षण सञ्जाल नेपाल (एनसिपिए) ले आज यहाँ आयोजना गरेको ‘बालश्रमको अवस्थाः नीति निर्माणदेखि कार्यान्वयनसम्म’ विषयक छलफल कार्यक्रममा सहभागीहरूद्वारा बालश्रम अन्त्यका लागि सहकार्य र समन्वय आवश्यक रहेकामा जोड दिइएको हो ।

कार्यक्रममा बालश्रमविरुद्धका अभियन्ता मिलन धरेलले बालश्रम अन्त्यका लागि संवैधानिक तथा नीतिगत व्यवस्थाको अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै त्यसका लागि राज्यले सबैलाई साथमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले नेपालको संविधानअनुसार राज्यले बालबालिकाको संरक्षण र विकासको जिम्मेवारी लिनुपर्ने स्पष्ट व्यवस्था गरेकाले कागज र नारामा मात्रै नभई व्यवहारमा त्यसको पालना हुनुपर्नेमा जोड दिए ।

एनसिपिएका अध्यक्ष मधु गुरुङले बालश्रम निषेध र नियमनको व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्ने र जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि सबै गम्भीर बन्नुपर्ने बताए । उनले बालश्रमको बदलिँदो स्वरुपलाई सम्बोधन गर्नेगरी २७ वर्ष पुरानो बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ लाई प्रतिस्थापन गर्ने प्रक्रियालाई शीघ्र टुङ्गोमा पु¥याउन आग्रह गरे ।

कार्यक्रममा समूहगत छलफल आयोजना गरिएको थियो । त्यस क्रममा श्रम तथा रोजगार कार्यालय, टेकुका प्रमुख उदय गुप्ताले बालश्रमसम्बन्धी पुरानो ऐन प्रतिस्पथापनका लागि विधेयक मस्यौदा तयार भइसकेको जनाउँदै कानुनका रूपमा आएमा धेरै समस्या समाधान हुने बताए ।

ऐनको मस्यौदामा तीनै तहका सरकारको क्षेत्राधिकार, श्रमको बदलिँदो स्वरुप, सरोकार भएकाहरूको जिम्मेवारीलगायत विषयमा थप प्रष्ट व्यवस्था गरिएकाले त्यसले बालश्रम नियन्त्रणमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।

टोखा नगरपालिकाका बालकल्याण अधिकारी निर्मला रेग्मी र कोन्ज्योसोम गाउँपालिका, ललितपुरका बालकल्याण अधिकारी सपना तामाङले आफ्ना पालिकाले अन्य सरोकार भएकाहरूसँग समन्वय र सहकार्य गरी बालश्रम नियन्त्रण र जोखिम नियन्त्रणका लागि भइरहेका कामबारे जानकारी गराएका थिय ।

धर्मगुरु भिक्षु पियदस्सी महर्जनले कुनै पनि धर्मले बालश्रमलाई उचित नठानेको भन्दै धार्मिक परम्परा र संस्कारका नाममा बालबालिकामाथि हिंसा नगर्न आग्रह गरे । उनले आफूहरूले राष्ट्रिय अन्तर धार्मिक सञ्जालमार्फत बालश्रम, बालविवाह र अन्य प्रकारका हिंसा नियन्त्रणका लागि सन्देश प्रवाह गरिरहेको र त्यसले समाजमा सकारात्मक प्रभाव परिहरेको बताए ।

कार्यक्रममा एनसिसिएका उपाध्यक्ष मणिराम आचार्य, गैरसरकारी संस्था सिविसका परियोजना संयोजक उमङ्ग मैनाली, सञ्चार अधिकृत सुरज श्रेष्ठ, बालश्रमविरुद्धका अभियन्ता एवं बालप्रतिनिधि धीरेन्द्र विसीलगायतले कार्यक्रममा सहजीकरण तथा आफ्ना धारणा राखेका थिय ।

बालश्रमविरुद्धको विश्वदिवस हरेक वर्ष जुन १२ गते मनाइन्छ । यसपटक ‘बालश्रमलाई रातो कार्डः बालबालिकाका लागि निष्पक्ष खेल, वयस्कका लागि मर्यादित काम’ भन्ने नारासहित शुक्रबार नेपालमा पनि यो दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।

प्रकाशित समय : २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु